२०८३ कार्तिक २५, मंगलबार
24 खबर अपडेट

रामग्राम कप क्रिकेट प्रतियोगिता : रामग्राम किंग्सको कीर्तिमानी जित, सुपर स्ट्राइकर्स २४० रनले पराजित

२०८३ कार्तिक २५, मंगलबार प्रकाशित (१ घण्टा अघि) २१ पाठक संख्या

परासी,२४ कात्तिक । पश्चिम नवलपरासीको रामग्राम–४ मा जारी रामग्राम कप क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न खेलमा रामग्राम किंग्स क्रिकेट क्लबले ब्याटिङमा विस्फोटक प्रदर्शन गर्दै रामग्राम सुपर स्ट्राइकर्सलाई २४० रनको विशाल अन्तरले पराजित गरेको छ।
रामग्राम रंगशालामा भएको खेलमा टस जितेर रामग्राम सुपर स्ट्राइकर्सले पहिले बलिङ गर्ने निर्णय गरे पनि रामग्राम किंग्सका ब्याट्सम्यानले मैदानमा छक्का र चौकाको वर्षा गर्दै निर्धारित खेलमा ३४४ रनको विशाल योगफल खडा गरेका थिए। किंग्सले विपक्षी टोलीसामु ३४५ रनको कठिन लक्ष्य प्रस्तुत गरेको थियो।
किंग्सको विशाल योगफल निर्माणमा रञ्जित खड्का नायक बने। उनले मात्र ५१ बलमा १७ छक्का र ५ चौकाको मद्दतले विस्फोटक १४२ रन बनाए। त्यस्तै जितेन्द्र केवटले ३६ बलमा ९ छक्का र ८ चौकासहित ८९ रन जोड्दा विष्णु थापाले २२ बलमा ५ छक्का र २ चौकाको मद्दतले ४६ रन बनाए। बिग्यान भट्टले पनि ८ बलमा ३ छक्का प्रहार गर्दै २१ रनको योगदान दिए। श्री कमल जैसवालले ६ रन बनाए।
रामग्राम सुपर स्ट्राइकर्सका बलर बैजु र आशिषले समान एक–एक विकेट लिए पनि किंग्सका ब्याट्सम्यानको आक्रामक प्रदर्शन रोक्न सकेनन्। जवाफमा ३४५ रनको विशाल लक्ष्य पछ्याएको रामग्राम सुपर स्ट्राइकर्सको ब्याटिङ धराशायी बन्यो। टोलीले १०४ रन मात्रै बनाउन सफल भएपछि रामग्राम किंग्सले २४० रनको फराकिलो जित आफ्नो पक्षमा पा¥यो।
सुपर स्ट्राइकर्सका विकास घिमिरेले ५६ बलमा २ छक्का र ३ चौकासहित ४१ रन बनाउँदा निरज लौनियारले १५ बलमा २ छक्का र एक चौकासहित १८ रन जोडे। अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
बलिङतर्फ रामग्राम किंग्सका राजन र विजयले समान २–२ विकेट लिए भने रञ्जित, सुमित र बिग्यानले समान एक–एक विकेट हात पारे। रञ्जितले ब्याटिङसँगै बलिङमा समेत योगदान दिँदै टोलीको जितलाई थप सहज बनाए।
रञ्जितको १४२ रनको विस्फोटक पारी र किंग्सको एकपक्षीय प्रदर्शन खेलका मुख्य आकर्षण बने। ३४४ रनको विशाल योगफल बनाएर विपक्षीलाई १०४ रनमै रोक्न सफल किंग्सले प्रतियोगितामा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेको छ।
रामग्राम किंग्स क्रिकेट क्लबको आयोजनामा सञ्चालन भइरहेको रामग्राम कप क्रिकेट प्रतियोगिताले स्थानीय क्रिकेट खेलाडीको प्रतिभा उजागर गर्नुका साथै जिल्लामा क्रिकेट खेलको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑