२०८२ माघ १, बुधबार
24 खबर अपडेट

परासीमा बजार अनुगमन, विना दर्ता सञ्चालित दुई मासु पसललाई ७ दिनको अल्टिमेटम

२०८२ माघ १, बुधबार प्रकाशित ( घण्टा अघि) १४२ पाठक संख्या

मोहन पौडेल
परासी, ३० पुस । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा जिल्ला बजार अनुगमन समितिले अनुगमन गरेको छ। उपभोक्ता हित संरक्षण तथा बजार व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले गरिएको अनुगमनमा किराना पसल, होटल तथा मासु पसलहरू समेटिएका थिए।
मंगलबार गरिएको अनुगमनका क्रममा लोकतान्त्रिक चोकमा दुईवटा मासु पसल विना दर्ता सञ्चालनमा रहेको पाइएपछि सम्बन्धित व्यवसायीलाई ७ दिनभित्र अनिवार्य रूपमा दर्ता प्रक्रिया पूरा गर्न अल्टिमेटम दिइएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका प्रमुख वरिष्ठ उद्योग अधिकृत मोहन पाण्डेले जानकारी दिनुभयो । तोकिएको समयभित्र दर्ता नगरे कानुनी कारबाही अघि बढाइने समितिले चेतावनी दिएको छ।
त्यसैगरी, अनुगमन टोलीले म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री नगर्न, सबै पसलमा स्पष्ट रूपमा दर्ता तथा नवीकरण प्रमाणपत्र र मूल्यसूची राख्न तथा सरसफाइमा विशेष ध्यान दिन व्यवसायीहरूलाई कडाइका साथ निर्देशन दिएको छ। होटल तथा मासु पसलहरूमा खाद्य स्वच्छता र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा पनि जोड दिइएको पाण्डेले बताउनुभयो ।
जिल्ला बजार अनुगमन समितिले उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि यस्ता अनुगमनलाई नियमित बनाइरहेको बताउँदै प्रमुख पाण्डेले व्यवसायीलाई नियम कानुनको पालना गर्दै जिम्मेवार रूपमा व्यवसाय सञ्चालन आग्रह गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च नवलपरासीका प्रतिनिधि तथा पत्रकार, सुरक्षाकर्मीसहितको टोलीले परासीका १६ वटा व्यवसायिक फर्महरुको अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता मनोज कुमार चौधरीले उल्लेख गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस