

परासी,१४ असोज । युवा अवस्थामै जनप्रतिनिधि बनेर बेग्लै पहिचान बनाउन सफल रामग्राम–१५ का वडा अध्यक्ष धनपद यादव नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत पश्चिम नवलपरासी क्षेत्र नं. २ को संघीय (क्षेत्रीय) सचिव पदमा अब्बल उम्मेदवारको रुपमा प्रस्तुत हुनुभएको छ ।
बिहीबार हुने निर्वाचनमा यादवले यामप्रसाद भुसाल(दीपक) नेतृत्वको प्यान्लबाट क्षेत्रीय सचिव पदमा उम्मेदवारी दिनुभएको हो । वडाको नेतृत्वबाट राजनीतिक यात्रा अघि बढाउनुभएका यादवले युवा अवस्थामै जनप्रतिनिधिको जिम्मेवारी सम्हाल्दै आफ्नो राजनीतिक पहिचान बनाउनुभएको छ ।
वि.सं. २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट रामग्राम नगरपालिका–१५ को वडाध्यक्षमा निर्वाचित हुनुभएका यादव त्यसयता निरन्तर स्थानीय राजनीति तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ ।
वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा भने पार्टीभित्रको आन्तरिक गुट–उपगुटका कारण उहाँले नेपाली कांग्रेसबाट चुनावी मैदानमा अवसर नपाएपनि उम्मेदवार बनेर पुनः वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । निर्वाचनमा पार्टीको औपचारिक उम्मेदवार नभए पनि त्यसपछि समेत कांग्रेससँगको राजनीतिक सम्बन्ध र पार्टी गतिविधिमा उहाँको सक्रियता निरन्तर रहेको छ ।
स्थानीय तहको नेतृत्वको अनुभवसँगै पार्टी संगठनभित्र पनि सक्रिय रहनुभएका यादवले अब क्षेत्रीय तहको जिम्मेवारीका लागि उम्मेदवारी दिनुभएको हो । वडा तहबाट सुरु भएको उहाँको राजनीतिक यात्रा अहिले संघीय क्षेत्रीय नेतृत्वसम्म पुगेको छ ।
यादवले आफूले प्राप्त गरेको स्थानीय तहको नेतृत्व अनुभवलाई पार्टी संगठन निर्माणमा उपयोग गर्ने उद्देश्यसहित सचिव पदमा उम्मेदवारी दिएको दैनिक खबर डटकमसँग बताउनुभयो । युवा पुस्तालाई पार्टी संगठनसँग थप जोड्ने, कार्यकर्ताबीच समन्वय र संवाद बढाउने तथा संगठनलाई जनस्तरसम्म थप प्रभावकारी बनाउने विषयलाई उहाँले आफ्नो प्राथमिकतामा राख्नुभएको छ ।
स्थानीय तहको निर्वाचनमा दुई फरक राजनीतिक परिस्थितिबाट जनताको समर्थन प्राप्त गर्नुभएका युवा नेता यादवको पार्टीमा यसपटकको क्षेत्रीय सचिव पदको उम्मेदवारीलाई कांग्रेस क्षेत्र नं. २ को अधिवेशनमा चासोका साथ हेरिएको छ । बिहीबार हुने निर्वाचनले क्षेत्र नं. २, दुवै प्रदेशसभा क्षेत्र तथा प्रदेश र महाधिवेशन प्रतिनिधि चयन गर्नेछ ।