२०८३ आश्विन २५, आईतबार
24 खबर अपडेट

मूल्यवृद्धि र सामग्री अभावको चुनौती खेप्दै मूर्तिकार, दुर्गा मूर्तिको माग भने बढ्दो

२०८३ आश्विन २५, आईतबार प्रकाशित (१७ घण्टा अघि) ५१ पाठक संख्या

बेनीमाधव बस्याल
नवलपरासी,२५ असोज । हिन्दुहरूको महान् पर्व बडादसैँ नजिकिँदै गर्दा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ हकुईका मूर्तिकार गंगासागर भरलाई दुर्गामूर्ति बनाउन भ्याइनभ्याइ छ।
तर मूर्ति निर्माणका लागि आवश्यक सामग्रीको अभाव र बढ्दो मूल्यवृद्धिका कारण उहाँलाई मूर्ति निर्माण गर्न चुनौती थपिएको छ।
भरले जेठ १९ गतेदेखि दुर्गा माताका मूर्ति बनाउन सुरु गर्नुभएको थियोे। हालसम्म ४८ वटा मूर्ति तयार भइसकेका छन्।
परम्परागत मूर्ति निर्माणको पेसालाई निरन्तरता दिँदै आउनुभएका उहाँले आफूसहित छ जनालाई रोजगारीसमेत दिनुभएको छ।
पाल्हीनन्दन गाउँपालिकाको विष्णुपुरामा मूर्ति बनाउन सिक्नुभएका भर अहिले यसै पेसामार्फत आफ्नो सीप र परम्परागत कलालाई अगाडि बढाइरहनुभएको छ।
मूर्ति निर्माणका लागि आवश्यक गुणस्तरीय माटो, पराल, बाँस, रङ तथा सजावटका सामग्री भारतीय बजारबाट ल्याउनुपर्ने बाध्यता रहेको भर बताउनुहुन्छ।
“स्वदेशमै सहज रूपमा सामग्री उपलब्ध नहुँदा निर्माण लागत बढेको छ” उहाँले भन्नुभयो । सामग्रीको मूल्य बढ्दै गए पनि दुर्गा मूर्तिको माग भने वर्षेनि बढिरहेको उहाँले बताउनुभयो।
दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी मूर्ति निर्माण गरिने यहाँ अग्रिम बुकिङ गर्ने चलनसमेत छ। यस वर्ष आफूले बनाएका सबै मूर्ति बुकिङ भइसकेको भरले जानकारी दिनुभयो।
माग बढे पनि आवश्यक सामग्रीको सहज उपलब्धता र लागत व्यवस्थापन मूर्तिकारका लागि मुख्य चुनौती बनेको छ।
दुर्गा माताको मूर्ति खरिद गर्न पुगेका रामग्राम नगरपालिका–१४, परसावलका बुद्धिराम कुँवरले विगत चार वर्षदेखि व्यक्तिगत रूपमा दुर्गा माताको मूर्ति स्थापना गर्दै आएको बताउनुभयो।
कुँवरका अनुसार मूर्ति खरिद गर्न मात्रै करिब ५० हजार रुपैयाँ खर्च हुन्छ। नौ दिनसम्म पूजापाठ सञ्चालन गर्दा अन्य व्यवस्थापनसहित कुल खर्च करिब एक लाख रुपैयाँ पुग्ने गरेको छ। पछिल्लो समय घरपरिवार तथा समूह मिलेर पनि दुर्गा माताको मूर्ति स्थापना गर्ने प्रचलन बढ्दै गएको उहाँले बताउनुभयो।
दसैँका अवसरमा स्थापना गरिएका दुर्गा माताका मूर्तिलाई पूजापाठपछि परम्पराअनुसार अन्तिम दिन नदी वा तलाउमा विसर्जन गर्ने गरिन्छ। यसले धार्मिक आस्था र सांस्कृतिक परम्परालाई निरन्तरता दिनुका साथै स्थानीयस्तरमा मूर्ति निर्माणको पेसालाई समेत चलायमान बनाएको छ।

IMG 20261011 WA0002

दुर्गा मूर्ति निर्माण धार्मिक आस्थासँगै जोडिएको परम्परागत कला र सीप पनि हो। तर, आवश्यक सामग्रीका लागि बाह्य बजारमा निर्भर रहनुपर्ने अवस्था, बढ्दो लागत र बजार व्यवस्थापनका चुनौतीले यस पेसामा संलग्न कलाकारलाई समस्या पारिरहेको छ।
स्थानीयस्तरमै मूर्ति निर्माणका लागि आवश्यक सामग्री उपलब्ध गराउने व्यवस्था, कलाकारलाई सहुलियत तथा आर्थिक सहयोग र बजार व्यवस्थापनमा सहजीकरण गर्न सके परम्परागत कलाको संरक्षणसँगै स्थानीय रोजगारी प्रवर्द्धनमा समेत टेवा पुग्ने देखिन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑