२०८३ आश्विन १९, सोमबार
24 खबर अपडेट

विभिन्न प्रतियोगितामा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीलाई सुनवल युनाइटेडको सम्मान

२०८३ आश्विन १९, सोमबार प्रकाशित (३ घण्टा अघि) ३१ पाठक संख्या

परासी, १९ असोज । विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रदेश तथा जिल्लास्तरमा विद्यालयको गौरब बढाउन सफल सुनवल युनाइटेड अंग्रेजी आवासीय माध्यमिक विद्यालयका विद्यार्थी सम्मानित भएका छन् ।
सुनवल–४ स्थित विद्यालयले विभिन्न प्रतियोगितामा प्रथम स्थान हासिल गरेका विद्यार्थीलाई एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । विद्यालयका प्रिन्सिपल धनराज चापागाईंको अध्यक्षतामा आयोजित कार्यक्रममा विजेता विद्यार्थीलाई टीका तथा खादा लगाएर सम्मान गरिएको थियो ।
गुल्मीमा गत असोज १ र २ गते सम्पन्न प्रदेशस्तरीय स्क्राबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल विद्यार्थी बिनिता वर्मालाई सम्मान गरिएको थियो । त्यस्तै, प्याब्सन नवलपरासीको आयोजनामा असोज ११ गते सम्पन्न जिल्लास्तरीय स्पेलिङ बी प्रतियोगितामा प्रथम भएका मान्भी न्यौपाने, मेरिसा ढकाल र एलेक्स पुनलाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ ।

IMG 20261005 WA0009

 

सम्मानित विद्यार्थीलाई बधाई तथा शुभकामना दिँदै प्रिन्सिपल चापागाईंले विद्यार्थीको अथक मेहनत, निरन्तर प्रयास र लगनशीलतासँगै सम्बन्धित टिमको निगरानी, प्रशिक्षण तथा मार्गदर्शनका कारण विद्यालयले प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताउनुभयो ।
उहाँले विद्यार्थीको क्षमता पहिचान गरी पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत अब्बल बनाउने उद्देश्यले विद्यालयले विभिन्न गतिविधिलाई प्राथमिकता दिँदै आएको बताउनुभयो । विद्यार्थीको सफलता व्यक्तिगत उपलब्धि मात्र नभई विद्यालय, अभिभावक तथा सम्पूर्ण सुनवल क्षेत्रकै गौरव भएको उहाँको भनाइ थियो ।
सुनवल युनाइटेडका विद्यार्थीहरूले पछिल्लो समय अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रदेश, जिल्ला तथा नगरस्तरीय विभिन्न अतिरिक्त क्रियाकलापका प्रतियोगितामा निरन्तर सफलता हासिल गर्दै आएका छन् । पछिल्लो उपलब्धिले विद्यालयमा अतिरिक्त क्रियाकलापतर्फ विद्यार्थीको आकर्षण र प्रतिस्पर्धात्मक क्षमता थप बढाएको विद्यालयको भनाइ छ ।
कार्यक्रममा सम्मानित विद्यार्थीहरू अध्ययनरत कक्षाका विद्यार्थी, विद्यालयको ईसीए टिम, शिक्षक तथा सम्बन्धित व्यक्तिहरूको सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑