

परासी,२० असोज । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले गाउँपालिकावासीलाई निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया सेवा उपलब्ध गराउने भएको छ । यसका लागि गाउँपालिका र डा. विनोद निता कँडेल आँखा अस्पताल परासीबीच सम्झौता भएको छ ।
सम्झौताअनुसार सरावल गाउँपालिकाले आवश्यक बजेट उपलब्ध गराउनेछ भने डा. विनोद निता कँडेल आँखा अस्पतालले पालिकावासीलाई मोतियाबिन्दुको पहिचान तथा आवश्यक शल्यक्रिया सेवा उपलब्ध गराउनेछ ।
सेवा सञ्चालनसम्बन्धी सम्झौतामा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी र डा. विनोद निता कँडेल आँखा अस्पतालका व्यवस्थापक अजय पाण्डेले हस्ताक्षर गर्नुभएको हो ।
आँखाको ज्योति गुमाउने प्रमुख कारणमध्ये एक रहेको मोतियाबिन्दुको उपचार आर्थिक अभावका कारण रोक्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो र
विशेषगरी ज्येष्ठ नागरिक, विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारका नागरिकलाई यसबाट प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।
सम्झौताको अवसरमा गाउँपालिका अध्यक्ष चौधरीले नागरिकको स्वास्थ्यलाई स्थानीय सरकारको प्राथमिकतामा राखिएको बताउँदै आर्थिक अभावकै कारण कसैले आँखाको ज्योति गुमाउन नपरोस् भन्ने उद्देश्यले निःशुल्क शल्यक्रिया सेवा अघि बढाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आँखाको ज्योति नागरिकको अमूल्य सम्पत्ति हो,पैसा नभएकै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिन स्थानीय सरकारले आवश्यक लगानी गर्छ ।”
त्यस्तै अस्पतालका व्यवस्थापक पाण्डेले गाउँपालिकासँगको सहकार्यले उपचारको पहुँचबाट टाढा रहेका नागरिकलाई ठूलो राहत पुग्ने बताउनुभयो । उहाँका अनुसार समयमै उपचार पाएमा मोतियाबिन्दुका कारण दृष्टि गुमाउने जोखिमबाट धेरै नागरिकलाई बचाउन सकिन्छ ।
सरावल गाउँपालिकाले आवश्यक प्रक्रिया पूरा गरी लक्षित नागरिकसम्म सेवा पुर्याउने जनाएको छ ।