

परासी, १३ पुस । पश्चिम नवलपरासीको परासी बजारमा मदन भण्डारी फाउन्डेसन नवलपरासीले कपडा बैंक स्थापना गरेको छ । परासीस्थित फाउन्डेसनको कार्यालयमा स्थापना गरि सञ्चालनमा ल्याइएको कपडा बैंकको शनिबार एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको हो ।
सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उद्देश्यसहित सञ्चालनमा ल्याइएको कपडा बैंकबाट आवश्यकतामा रहेका विपन्न, असहाय तथा आपत्विपत्तिमा परेका नागरिकलाई सहयोग पु¥याउने लक्ष्य लिइएको फाउन्डेसनले जनाएको छ।
‘राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन’ भन्ने जननेता मदन भण्डारीको प्रेरणालाई आत्मसात् गर्दै सामाजिक सेवामा निरन्तर सक्रिय रहने उद्देश्यका साथ कपडा बैंक सञ्चालन गरिएको फाउन्डेसनका अध्यक्ष श्याम बस्यालले जानकारी दिनुभयो ।
कपडा बैंकमार्फत प्रयोगयोग्य तर प्रयोगमा नआएका कपडाहरू संकलन गरी लक्षित समुदायमा वितरण गरिने उहाँले बताउनुभयो । यसले सामाजिक एकता, सहयोग र मानवतामूलक कार्यलाई थप सुदृढ बनाउने विश्वास लिइएको अध्यक्ष बस्यालको भनाइ छ । फाउन्डेसनले इच्छुक व्यक्ति, संघ–संस्था तथा व्यवसायीहरूलाई कपडा दान गरी कार्यक्रमलाई सहयोग गर्न आह्वान गरेको छ।
यसैबीच मदन भण्डारी फाउन्डेसन पश्चिम नवलपरासीको तेस्रो बैठक शनिबार विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले कपडा बैंकलाई प्रभावकारी बनाउने, जिल्ला स्तरीय हाजिरीजवाफ तथा भलिवल प्रतियोगिता आयोजना गर्ने लगयातका निर्णय गरेको अध्यक्ष बस्यालले बताउनुभयो ।