

परासी, ११ पुस । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–२ स्थित समावेशी कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा धनमाया गौतम क्षेत्री निर्वाचित हुनुभएको छ । संस्थाको विहीबार सम्पन्न पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पुनः गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रह्लाद पासी,सचिवमा व्यासमुनि यादव, कोषाध्यक्षमा महेन्द्र धरिकार रहनुभएको छ । लेखा समिति संयोजकमा नन्दकिशोर यादव तथा सदस्यतामा गिता कुम्हाल र पावित्री कोँहार चयन हुनुभएको संस्थाले जनाएको छ ।
साधारणसभाको उद्घाटन गर्दै सुनवल–२ का वडा अध्यक्ष राजेन्द्र यादवले सहकारीमार्फत कृषकहरुको आर्थिक सशक्तीकरणमा योगदान गर्न समावेशी कृषि सहकारीको स्थापना गरिएको बताउनुभयो । उहाँले सहकारी मार्फत वितरण भइरहेको मलविउको दुरुपयोग बढेको गुनासो आएकोले अव वडा कार्यालयले नै मापदण्ड बनाएर वितरणमा सहजीकरण गर्ने उल्लेख गर्नुभयो ।
संस्थाकी अध्यक्ष गौतमले सहकारीलाई अझै पारदर्शी,उत्तरदायी र सदस्य केन्द्रित बनाउँदै कृषि उत्पादन,बचत तथा ऋण प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साधारणसभाले अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रगति तथा आगामी कार्ययोजना सम्बन्धि प्रतिवेदन, कोषाध्यक्ष महेन्द्र धरिकारद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक नन्दकिशोर यादवद्धारा प्रस्तुत लेखा प्रतिवेदन छलफलसहित पारित गरेको छ ।
करिब ६ सय शेयर सदस्य रहेको उक्त सहकारीले गत आर्थिक वर्षमा रु दुई लाख २१ हजार शुद्ध मुनाफा आर्जन गरेको छ । सहकारीमा आवद्ध कृषकहरुलाई तालिम, अनुदानमा मल विउ तथा कृषि यान्त्रिकीकरणको माध्यमबाट कृषि उत्पादनमा सहयोग गर्दै आएको यस सहकारीले आगामी दिनमा कृषक प्रोत्साहनका थप कार्यक्रमहरु लागू गर्ने लक्ष्य लिएको छ ।
सभामा हरिओम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रनबहादुर थापा, धौलागिरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लक्ष्मण बनिया, शेयर सदस्य सूर्यप्रसाद सुवेदी, दीपक अर्याल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।