

मोहन पौडेल
परासी, ८ पुस । पश्चिम नवलपरासीको रामग्राम–४, सूर्यपुरामास्थित हिलेरियस चिल्ड्रेन एकेडेमीले आफ्नो २१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस २०८२ विभिन्न कार्यक्रमका साथ मनाउन शुरु गरेको छ ।
पाँच दिनसम्म विभिन्न रचनात्मक कार्यक्रमका साथ मनाइने वार्षिकोत्सव कार्यक्रमको मंगलबार एक समारोहकाबीच उद्घाटन गरिएको छ ।
विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यालयले दुई दशकभन्दा बढी समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको योगदानलाई स्मरण गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उक्त विद्यालयका पूर्व अभिभावक एवं व्यवसायी राजेन्द्र जयसवालले बालमैत्री वातावरणमा व्यवहारिक र सृजनात्मक शिक्षालाई प्राथमिकता दिँदै आएकोमा विद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । अभिभावक र विद्यालयबीचको सहकार्यले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्नेमा उहाँको जोड थियो ।
वार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा पाँच दिनसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत चित्रकला, निबन्ध लेखन, वक्तृत्वकला, खेलकुद प्रतियोगिता, पुरस्कार वितरण, चित्रकला शिल्प कौशल प्रदर्शनीजस्ता विविध शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरू समावेश गरिएको विद्यालयका संस्थपक प्रिन्सिपल जनार्दन ठाकुरले जानकारी दिनुभयो । गुणस्तरीय शिक्षामा नगरकै उत्कृष्ट विद्यालयको रुपमा स्थपित गरेको बताउँदै पाँच दिवसीय कार्यक्रमले विद्यार्थीको प्रतिभा प्रस्फुटनसँगै अभिभावक, शिक्षक र विद्यालयबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । विद्यालयका शिक्षक प्रेम पाण्डेको स्वागत तथा विश्वजीत ठाकुरको सञ्चालनमा कार्यक्रम भएको थियो ।
साथै आजै मावि स्तरीय र आधारभूत तह स्तरीय छुट्टाछुट्टै वक्तृत्वकला प्रतियोगिता पनि सम्पन्न भएको छ । मावि स्तरीय वक्तृत्कला प्रतियोगितामा आयुस जयसवाल प्रथम,रोशनी कसौधन द्धितीय,अतित ठाकुर तृतीय तथा वर्षा कर्ण सान्त्वना भएका छन् भने आधारभूत तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रीति विश्वकर्मा प्रथम,मारियम खान द्धितीय,सानवी यादव तृतीय तथा अष्टुभुजी गुप्ता सान्त्वना हुनुभएको प्रतियोगिताका निर्णायक एवं आदर्श माविका शिक्षक सुन्दर बस्यालले जानकारी दिनुभयो ।



