२०८२ पौष २, बुधबार
24 खबर अपडेट

सरावल–७ को प्रगति, छोरीलाई विवाह खर्चदेखि दमकल र एम्बुलेन्स सेवासम्म

२०८२ पौष २, बुधबार प्रकाशित ( घण्टा अघि) १४३ पाठक संख्या

मोहन पौडेल
परासी, २ पुस । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ७ ले विकास निर्माण र सेवा प्रवाहमा उल्लेखनीय प्रगति हासिल गरेको दाबी गरेको छ । परासी प्रेस क्लवमार्फत पत्रकार सम्मेलन गरी वडा अध्यक्ष हेयात खाँ धुनियाले उक्त दाबी गर्नुभएको हो ।
दोस्रो पटक निर्वाचित हुनुभएका वडा अध्यक्ष धुनियाको नेतृत्वमा वडामा सडक, शिक्षा, स्वास्थ्य, कृषि र विपद् व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय परिवर्तन देखिएको हो । वडामा आगलागी नियन्त्रणका लागि आफ्नै दमकलको व्यवस्था गरिएको छ। यसअघि परासीबाट दमकल आउँदासम्म ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था रहेकोमा अहिले तत्कालै उद्धार तथा नियन्त्रण सम्भव भएको वडा अध्यक्ष धुनिया बताउनुहुन्छ ।
शिक्षा क्षेत्रको सुधारमा पनि वडाले प्राथमिकता दिएको छ। सामुदायिक विद्यालयका भवन निर्माणसँगै विद्यार्थीलाई पोशाक र झोला वितरण गरिएको छ। शिक्षामा गरिएको लगानीले विद्यार्थीलाई सहज अध्ययनको वातावरण बनाएको छ ।
वडामा बाढीको जोखिम उच्च रहेकाले बाँध निर्माण गरी डुबान नियन्त्रण पहल गरिएको छ। कृषि उत्पादन बढाउन सिँचाइका लागि पम्पसेट वितरण र बोरिङको व्यवस्था गरिएको छ, जसले किसानलाई प्रत्यक्ष राहत पुगेको छ।
निर्वाचनअघि वडाका सबै सडक कच्ची अवस्थामा रहे पनि हाल करिब ८० प्रतिशत सडक आरसीसी ढलान तथा कालोपत्रे गरिएको छ। यसले आवागमन सहज हुनुका साथै स्थानीयको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याएको वडा अध्यक्ष धुनियाको दाबी छ ।
वडामा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण गरि सेवा प्रवाह गरिएको छ भने स्वास्थ्य चौकी भवन पनि तयार भइसकेको र आगामी वैशाख महिनामा उद्घाटन गर्ने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ । वडा मार्फत नै सञ्चालन हुने गरी एम्बुलेन्स सेवाको व्यवस्था समेत अन्तिम चरणमा पुगेको वडा अध्यक्ष धुनियाले जानकारी दिनुभएको छ ।
गाउँ–गाउँ तथा चोक–चोकमा उज्यालो बत्ती जडान गरिनुका साथै बर्दघाटे कालिका मन्दिर परिसरमा श्रीराम मन्दिर निर्माण कार्य जारी रहेको छ। वडा अध्यक्ष धुनियाले निर्वाचनका बेला जनतासँग गरेका प्रतिबद्धता करिब पूरा भएको बताउँदै आगामी दिनमा डुबान समस्याको स्थायी समाधानका लागि नेपाल–भारत सीमा सम्बन्धी विषयमा कूटनीतिक पहल मार्फत समाधानका लागि प्रयास जारी राखेको बताउनुभयो ।
यस वडामा लुम्बिनी प्रदेशमै फरक र उदाहरणीय कार्यक्रमका रूपमा छोरीहरूको विवाहमा ११ हजार रुपैयाँ सहयोग गर्ने कार्यक्रम सञ्चालन गरिएको छ, जसका लागि छोरीको उमेर २० वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ। भुजहवा बजारको व्यवस्थापन र स्थानीय व्यवसाय प्रवद्र्धनलाई आगामी प्राथमिकतामा राखिएको वडा कार्यालयले जनाएको छ। स्थानीयवासीहरूका अनुसार सरावल–७ मा पछिल्ला वर्षहरूमा विकासले गति लिएको छ र वडा अध्यक्षको नेतृत्वप्रति जनविश्वास बढ्दै गएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस