

मोहन पौडेल
परासी, १६ मंसिर । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले अस्पताल निर्माणका लागि छुट्याएको सार्वजनिक जग्गाको अतिक्रमण पूर्ण रुपमा हटाएको छ । अतिक्रमण हटाइएसँगै गाउँपालिका अस्पताल निर्माणको पूर्वतयारीमा जुटेको छ ।
सरावल–५ धनगढवास्थित अस्पताल निर्माण स्थलमा अटेरी गर्दै अवैद्य रुपमा बस्दै आएका दुई घरपरिवारलाई सोमबार हटाइएको हो । अस्पताल निर्माणका लागि अवरोध भएपछि पटकपटक सूचना जारी गरी अतिक्रमण हटाउन आग्रह गरिएपनि अटेरी गर्दै आएकोले जनप्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयहरुको सक्रियतामा अतिक्रमण गरी बनाइएका रामवृक्ष कहाँर र बैजनाथ कँहारको कच्ची घर डोजर लगाएर भत्काइएको सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले जानकारी दिनुभयो ।
करिब दुई विघा क्षेत्रफल रहेको उक्त जग्गामा सरावल गाउँपालिकाले पन्ध्र शैय्याको आधारभूत अस्पताल निर्माण गर्ने तयारी गरिरहेको छ । त्यसअघि सोही जग्गालाई व्यवस्थित गरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो । यही मंसिर २६ गतेदेखि उक्त प्रतियोगिता आयोजना हुँदैछ ।
सरावल गाउँपालिकाले दीर्घकालीन स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित अस्पताल निर्माण कार्यलाई तत्कालै अघि बढाउन आवश्यक प्राविधिक तथा प्रशासनिक तयारीका कामलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ । सरावलमा आधारभूत स्तरको अस्पताल नहुँदा सदरमुकाम परासीसहित बर्दघाट तथा बुटवल, भैरहवा लगायतका क्षेत्रमा स्वास्थ्य उपचारका लागि जानुपर्ने बाध्यता रहेको छ । अब केहीदिन भित्रै अस्पताल निर्माणको काम शुरु गरिने र गाउँपालिका भित्रका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने गरी गाउँपालिका अघि बढेको अध्यक्ष चौधरीले उल्लेख गर्नुभयो ।