२०८२ मंसिर ५, बिहिबार
24 खबर अपडेट

यूएमएनको सहयोगमा सञ्चालित परियोजनाको प्रभाव : दिगो र सकारात्मक

२०८२ मंसिर ४, बुधबार प्रकाशित ( घण्टा अघि) ११६ पाठक संख्या

परासी, ३ मंसिर । पश्चिम नवलपरासीमा यूनाइटेड मिसन टु नेपाल (यूएमएन) को सहयोगमा सञ्चालन भएका सामाजिक तथा विकासमूलक परियोजनाहरू अत्यन्त प्रभावकारी देखिएका छन्।
आर्थिक वर्ष २०८१/०८२ मा प्रतापपुर र पाल्हीनन्दन गाउँपालिकामा कार्यान्वयन भएका परियोजनाको सामाजिक परीक्षण (सोसियल अडिट)का क्रममा स्थानीय सहभागिहरूले यूएमएनका कार्यक्रमले समुदायमा दिगो र सकारात्मक परिवर्तन ल्याएको स्पष्ट रूपमा देखिएको बताएका हुन् ।
यूएमएनले इन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाट र सुनवल सामुदायिक विकास केन्द्रमार्फत अपांगता समावेशी विकास, एकीकृत ग्रामीण स्वास्थ्य, घरेलु हिंसा न्यूनीकरण, लैंगिक समानता, उत्थानशील जीविकोपार्जन र बालअधिकार सशक्तीकरणसहित ६ वटा परियोजना सञ्चालन गरेको थियो। यिनै परियोजनाहरूको प्रभाव मूल्यांकनका क्रममा समुदायले शिक्षा, स्वास्थ्य, आत्मविश्वास वृद्धि, पारिवारिक मेलमिलापदेखि महिलाको नेतृत्व विकाससम्म उल्लेखनीय उपलब्धी देखिएको बताएको छ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव (रुदल) ले यूएमएनद्वारा गरिएको काम ‘अति प्रभावकारी र अनुकरणीय’ भएको प्रतिक्रिया दिँदै प्राप्त उपलब्धीलाई समुदाय तथा स्थानीय सरकारले निरन्तरता दिन सके वर्तमान मात्र होइन, भविष्यका पुस्तासमेत प्रेरित हुने बताउनुभयो । उहाँले भौतिक विकासजस्तै सामाजिक विकासलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।

U2

प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले पछाडि परेका समुदायलाई मूल प्रवाहमा ल्याउन यूएमएनका कार्यक्रमले खेलेको भूमिका ‘अत्यन्त महत्वपूर्ण’ रहेको उल्लेख गर्दै गाउँपालिकाले परियोजनाबाट आएका राम्रो अभ्यासहरूलाई आफ्नै नीति तथा योजनामा समावेश गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले यूएमएनले जवाफदेही, पारदर्शिता र समुदाय–केन्द्रीत कार्यशैलीको उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै राम्रा कामलाई स्थानीय तहले संस्थागत रूपमै अघि बढाउन सुझाव दिनुभयो । खुला सीमाका कारण नवलपरासीमा बढ्दै गएको लागूऔषध दुव्र्यसनप्रति चिन्ता व्यक्त गर्दै त्यसतर्फ लक्षित नयाँ परियोजना ल्याउन पनि उहाँले आग्रह गर्नुभयो ।
यूएमएन लुम्बिनी प्रदेश क्लस्टर–नवलपरासीकी टिम लिडर सबु तामाङले संस्थाले ‘सामुदायिक परिवर्तनलाई केन्द्रमा राखेर’ काम गर्दै आएको बताउँदै सबै सफलताको श्रेय समुदाय तथा सरोकारवालाको साझेदारी र विश्वासका कारण सम्भव भएको उल्लेख गर्नुभयो । आगामी वर्षहरूमा पनि यूएमएन निरन्तर रहने उल्लेख गर्दै उहाँले प्रतापपुरका दुई र पाल्हीनन्दनका पाँच सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना कार्यक्रम अघि बढिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी ज्ञानुप्रसाद पनेरु, डिएसपी वीरदत्त पन्त, स्वास्थ्य कार्यालय प्रमुख अंगदबहादुर शाही, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख महेन्द्र सुवेदी, पाल्हीनन्दनका प्रमुख प्रशासकीय अधिकृत दिनेश गौड, प्रतापपुरका सामाजिक विकास समिति संयोजक केशव अधिकारी, पत्रकार महासंघका अध्यक्ष केशव पराजुलीलगायत सरोकारवालाहरूले यूएमएनका परियोजनाहरूलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

U3

पत्रकार मोहन पौडेलको सहजीकरणमा सम्पन्न कार्यक्रममा यूएमएनका परियोजना व्यवस्थापक अर्जुन तामाङ र सिपोरा महत्तोले ६ वटा परियोजनाका गतिविधि, उपलब्धी तथा प्रभावका बारेमा विस्तृत प्रस्तुतीकरण गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस