

परासी, २८ कात्तिक । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१२ भूमहीमा बजार अनुगमन गरिएको छ । विहीबार जिल्ला बजार अनुगमन समितिले भूमही क्षेत्रमा रहेका खाद्यन्न, होटल लगायत विभिन्न १० वटा व्यवसायिक प्रतिष्ठानहरुमा सचेतनामूलक अनुगमन गरेको हो ।
अनुगमनको क्रममा खाद्यन्न पसलहरुबाट ठूलो मात्रामा म्याद गुज्रेका तथा लेवल नभएका वस्तुहरु जफत गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका प्रमुख मोहन पाण्डेले जानकारी दिनुभयो । अनुगमन समितिले म्याद गुज्रेर खान अयोग्य वस्तुहरु विक्री वितरण नगर्न सचेत गराउँदै आगामी दिनमा सुधार गर्न सुझाव दिएको थियो ।
यस्तै भूमही क्षेत्रमा रहेका अधिकांश होटलहरुमा सरसफाइको कमी देखिएको छ । होटल तथा रेष्टुरेण्टहरुमा गुणस्तरसहित भान्सा लगायतमा सरसफाइ नदेखिएको प्रमुख पाण्डेले बताउनुभयो । सरसफाइ लगायतका क्षेत्रमा सुधार नभए आगामी दिनमा कानूनी कारवाही गरिने समितिले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, सुरक्षाकर्मीसहितको संयुक्त टोलीले बजार अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता मनोज चौधरीले बताउनुभयो ।