२०८२ आश्विन २९, बुधबार
24 खबर अपडेट

रामग्रामको पोखरापाली र मन्झरियामा बजार अनुगमन

२०८२ आश्विन २९, बुधबार प्रकाशित (0 घण्टा अघि) १३२ पाठक संख्या

मोहन पौडेल
परासी, २९ असोज । तिहार तथा छठ पर्व नजिकिएसँगै पश्चिम नवलपरासीको सदरमुकाम परासी क्षेत्रमा बजार अनुगमन गरिएको छ । मंगलबार रामग्राम नगरपालिका–६ पोखरापाली र वडा नं.१० मन्झरियामा बजार अनुगमन गरिएको हो ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवा र जिल्ला बजार अनुगमन समिति पश्चिम नवलपरासीले गरेको संयुक्त अनुगमन खाद्यन्न,होटल, रेष्टुरेण्ट तथा मिठाइ पसलमा केन्द्रीत थियो । उक्त क्षेत्रमा रहेका होटल तथा मिठाइ पसलमा सरसफाइको अभाव देखिएको छ भने खाद्यन्न पसलहरुमा म्याद गुज्रेका,लेवल नभएका गुणस्तरहित वस्तुहरु फेला परेको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका प्रमुख मोहन पाण्डेले जानकारी दिनुभयो ।
यसैगरी अधिकांश पसलमा मूल्यसूची, साइनबोर्ड नराखिएको र लामो समयदेखि नवीकरण समेत गरी पसल व्यवसाय सञ्चालन गरिरहेको भेटिएको छ । अनुगमन टोलीेले होटल तथा मिठाइ पसलहरुलाई सरसफाइमा विशेष ध्यान दिन सचेत गराएको छ भने अन्य पसलहरुलाई लेवल नभएका तथा म्याद गुज्रेका वस्तुहरु विक्री वितरण नगर्न, तोकिएको समयमा नवीकरण गर्न, मूल्यसूची तथा साइनबोर्ड अनिवार्य राख्न निर्देशन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पाण्डेले बताउनुभयो ।
पोखरापाली र मन्झरियामा गरी १८ वटा व्यवसायिक फर्महरुको अनुगमन गरिएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय भैरहवाका उपनिर्देशक पुष्पराज पाण्डेले जानकारी दिनुभयो । अनुगमन टोलीले अखाद्य पदार्थ तथा पेय पदार्थ जफत गरी नष्ट गरेको थियो ।
चाडपर्वको समयमा विशेषगरी कृत्रिम अभाव, महंगी तथा अखाद्य पदार्थहरु विक्री वितरण गरी उपभोक्ता ठगी गर्ने कार्य बढी हुने भएकोले यो समयमा बजार अनुगमनलाई विशेष जोड दिइएको उपनिर्देशक पाण्डेले बताउनुभयो ।
निर्देशनालयसहित जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च नवलपरासी, जिल्ला प्रहरी कार्यालय, पत्रकार सहितको टोलीले बजार अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता मनोज कुमार चौधरीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस