मोहन पौडेल
परासी, २७ असोज । अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरुबाट संकलित सहयोग रकमबाट पश्चिम नवलपरासीका १० जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । परासीस्थित पवन माविमा कक्षा ११ र १२ मा अध्ययनरत छात्राहरुलाई शैक्षिक उन्नतीमा प्रोत्साहन गर्न आज उक्त छात्रवृत्ति प्रदान गरिएको हो ।
हाल अमेरिकामा बस्दै आउनुभएका मदन बरालको नेतृत्वमा संकलन गरि पठाइएको रु एक लाख पाँच हजार रकम परासीस्थित समाजसेवी सरिता पौडेलको पहलमा एक वर्षलाई पुग्ने गरी प्रति विद्यार्थी रु दश हजार पाँच सयका दरले दश जनालाई वितरण गरिएको हो ।
शिक्षामा समान पहुँच स्थापित गरी छोरीलाई पनि छोरा सरह उच्च शिक्षा हासिल गर्न हौसला मिलोस् भनेर यो पहल गरिएको समाजसेवी पौडेलले बताउनुभयो । आर्थिक रुपमा विपन्न र जेहेन्दार छात्राहरुलाई अध्ययनमा हौसला प्रदान गर्न व्यक्तिगत सहयोगबाट प्राप्त रकम छात्रवृत्तिको रुपमा प्रदान सहयोग गर्न पाउँदा खुशी लागेको उहाँको भनाई थियो ।
नमूना महिला समाजको अध्यक्ष एवं महिला नेतृको रुपमा स्थापित पौडेलले भन्नुभयो, “विपन्न र जेहेन्दार छात्राहरुलाई उच्च शिक्षा हासिलका लागि प्रोत्साहन गर्न मैले मेरो परिवारका सदस्यबाट संकलित रकम छात्रवृत्ति स्वरुप उपलब्ध गराएकी हुँ, आर्थिक अभावका कारण विशेषगरी छोरीहरु शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्य हो, यसले आर्थिक अभावकै कारण विचमै पढाइ छोड्नुपर्ने बाध्यताको अन्त्य गर्ने र पढाइमा रुची जगाउने मैले विश्वास लिएकी छु ।”
पौडेल स्वयं पनि सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत हुुनुहुन्छ । नाताले उहाँका ज्वाई मदन बरालले अमेरिकामा रहेका आफन्तहरुबाट संकलन गरेको रकमबाट गत वर्ष पनि १६ जना छात्राहरुले छात्रवृत्ति प्राप्त गरेका थिए । बरालको नेतृत्वमा संकलन हुने रकमबाट नेपालका अन्य धेरै जिल्लामा सामाजिक उत्तरदायित्वका कार्यहरु हुँदै आएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विन्द्रेश हरिजन, प्रधानाध्यापक शालिकराम लामिछाने, समाजसेवी सरिता पौडेल लगायतले संयुक्त रुपमा छात्रवृत्ति वितरण गर्नुभएको थियो ।