२०८२ आश्विन २७, सोमबार
24 खबर अपडेट

नेपाल जेसीजको आगामी क्षेत्र घ सम्मेलन २०२६ रामग्राममा हुने

२०८२ आश्विन २६, आईतबार प्रकाशित ( दिन अघि) १८६ पाठक संख्या

परासी, २६ असोज । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशील अन्र्तराष्ट्रिय संस्था नेपाल जेसीजको आगामी क्षेत्र घ सम्मेलन पश्चिम नवलपरासीको रामग्राममा हुने भएको छ । नेपाल जेसीजले प्रत्येक वर्ष आयोजना गर्दै आएको क्षेत्रीय सम्मेलन अन्र्तगत वर्ष २०२६ मा हुने क्षेत्र घ सम्मेलनको आतिथ्य गर्ने जिम्मेवारी रामग्राम जेसीजलाई प्रदान गरेको हो ।
यही असोज २४ र २५ गते कञ्चनपुरस्थित महेन्द्रनगर जेसीजको आतिथ्यमा सम्पन्न नेपाल जेसीज क्षेत्र घ सम्मेलन २०२५ ले आगामी वर्षको क्षेत्र घ सम्मेलन गर्ने जिम्मेवारी रामग्राम जेसीजलाई प्रदान गरेको रामग्राम जेसीज वर्ष २०२५ का अध्यक्ष विष्णुराज रावले जानकारी दिनुभयो । १८ देखि ४० वर्ष भित्रका युवाहरु आवद्ध हुने जेसीज अभियानमा क्षेत्रीय सम्मेलनलाई महत्वपूर्ण सम्मेलनको रुपमा मानिन्छ ।
जेसीजको मिनि महाधिवेसनको रुपमा समेत लिइने क्षेत्र घ सम्मेलन रामग्राममा करिब १६ वर्षपछि दोस्रो पटक हुन लागेको हो । यसअघि सन् २०१० मा पहिलो पटक रामग्राम जेसीजको आतिथ्यमा नेपाल जेसीजको क्षेत्र घ सम्मेलन सम्पन्न भएको थियो ।
नेपाल जेसीजका चार वटा क्षेत्रहरु रहेका छन्। नारायणी नदी पश्चिम गैँडाकोटदेखि महेन्द्रनगर सम्म क्षेज्ञ घ अन्र्तगत पर्दछ । क्षेत्र घ अन्र्तगत ५८ वटा जेसीजका स्थानीय शाखाहरु रहेको रामग्राम जेसीजका अध्यक्ष रावले बताउनुभयो । उक्त सम्मेलनमा देशभरका करिब एक हजार युवाहरु नवलपरासीको रामग्राममा भेला हुनेछन् ।
भगवान् गौतम बुद्धको मौलिक अस्तिधातु रहेको विश्वको एकमात्र स्थल रामग्राम स्तूप रहेको पश्चिम नवलपरासीको रामग्राम परासीमा लामो अन्तरालपछि जेसीजको राष्ट्रिय कार्यक्रमको रुपमा क्षेत्र घ सम्मेलन आयोजना हुनुले समग्र रामग्राम नगरको पर्यटन विकासमा थप टेवा पुग्ने रामग्राम जेसीजका पूर्व अध्यक्ष एवं नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सन्दिप अग्रहरीले बताउनुभयो ।
“२५ वर्ष अघि सन् २००० मा नवलपरासीको सदरमुकाम परासीलाई मुख्य कार्य क्षेत्र बनाएर स्थापना भएको रामग्राम जेसीजले आगामी वर्ष २०२६ मा क्षेत्रीय सम्मेलन गर्ने अवसर पाउनु रामग्राम मात्र नभएर समग्र पश्चिम नवलपरासीको पर्यटन र आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास छ”, उहाँले भन्नुभयो ।
महेन्द्रनगरमा सम्पन्न सम्मेलनमा रामग्राम जेसीजका निर्वतमान अध्यक्ष मोहन पौडेलले आगामी वर्षको क्षेत्र घ सम्मेलनको लागि शाखाको तर्फबाट प्रस्तावना पेश गर्नुभएको थियो । नेपाल जेसीजको विधान अनुसार क्षेत्रीय सम्मेलन गर्ने शाखाले एक वर्ष अगाडि हुने सम्मेलनबाट प्रस्तावना पेश गरी पारित गर्नुपर्ने हुन्छ । रामग्राम जेसीजले आगामी सम्मेलनको लागि पेश गरेको प्रस्तावना अन्य सबै शाखाहरुले सहमति जनाएको अध्यक्ष रावले बताउनुभयो ।
रामग्राममा आयोजना हुने युवाहरुको सम्मेलनले समग्र यस क्षेत्रको पर्यटन र आर्थिक विकास तथा व्यवसायिक विस्तारमा महत्वपुर्ण टेवा पुग्ने विश्वास लिइएको रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्याम बस्यालले बताउनुभयो । आगामी वर्ष रामग्राममा हुने क्षेत्रीय सम्मेलनलाई सफल बनाउन जेसीजका सबै शाखाहरुको भरपुर सहयोग हुने विश्वास व्यक्त गर्दै संस्थापक अध्यक्ष बस्यालले यो अवसर प्रदान गर्ने सबै शाखा अध्यक्षहरु तथा नेपाल जेसीज परिवारलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस