२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

बर्दघाटको आठौं नगरसभा – आगामी वर्षको लागि रु ८० करोड बजेट सार्वजनिक

२०७८ अषाढ १०, बिहिबार प्रकाशित ( साल अघि) ६१० पाठक संख्या

मोहन पौडेल
परासी, १० असार । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले ८० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको आज सम्पन्न आठौं नगरसभामा आगामी आव २०७८/०७९ का लागि उक्त बजेट पेश गरिएको थियो ।
नगर प्रमुख धीरज शर्मा बस्यालको अध्यक्षतामा भएको उक्त सभामा नगर उपप्रमुख माया देवी पौडेलले वार्षिक बजेट र नगर प्रमुख बस्यालले नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो ।
नगरसभाले वार्षिक बजेट,नीति तथा कार्यक्रम पारित गर्नुका साथै आर्थिक ऐन, विनियोजन विद्ययक र वन ऐन तथा नगर शिक्षा ऐनको प्रथम संशोधन पारित गरेको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्यले दैनिक 24 खबर डटकमलाई जानकारी दिनुभयो ।
नीति तथा कार्यक्रममा कोभिड नियन्त्रण र स्वास्थ्य तथा पूर्वाधार र कृषिलाई प्राथमिकता दिईएको छ । आईसोलेशन व्यवस्थापन, आईसोलेसनका कर्मचारीलाई निशुल्क खाना र बस्ने व्यवस्था, उपचारमा सहुलियत, सर्वसुलभ स्वास्थ्य सेवा दिने, नगरलाई पूर्ण संस्थागत सुत्केरी नगर घोषणा गर्ने, सुत्केरी पोषण भत्ता र नि: शुल्क एम्बुलेन्स सेवा दिने नीति ल्याईएको छ ।
संघीय सरकारले विनियोजन गरेको ट्रमा सेन्टर निर्माणलाई अघि बढाउने,एक घर एक रुख, एक वडा एक पोखरी,सडक वत्ति व्यवस्थापन, फोहोरमैला व्यवस्थापन लगायतका कार्यक्रम अघि सारिएको छ ।
व्यवसायिक र आधुनिक कृषिलाई प्रोत्साहन गर्न मल बीउ र यान्त्रिकरणमा अनुदान दिने नीति अघि सारिएको प्रमुख प्रशासकीय अधिकृत पाध्यले बताउनुभयो ।
वैकल्पिक शिक्षणलाई अघि बढाउने, सडक लगायतका पूर्वाधार निर्माण लगायत कार्यक्रम पनि समेटिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस