२०८३ श्रावण १३, बुधबार
24 खबर अपडेट

कृष्ण क्षेत्री ‘नेपालीमान्छे’को नयाँ गीत ‘मन फेरियो’ सार्वजनिक हुँदै

२०८३ श्रावण १३, बुधबार प्रकाशित ( घण्टा अघि) ११३ पाठक संख्या

परासी, १३ साउन। नेपाली आधुनिक संगीतका पारखीका लागि सर्जक कृष्ण क्षेत्री ‘नेपालीमान्छे’को नयाँ सांगीतिक कोसेली ‘मन फेरियो’ सार्वजनिकको तयारीमा छ । दाजुभाइबीचको पारिवारिक सम्बन्ध, त्याग, प्रेम, बिछोड र समयसँगै बदलिँदो मनोभावलाई मार्मिक रूपमा चित्रण गरिएको यस गीतले दर्शक–श्रोताको मन छुने अपेक्षा गरिएको छ।
‘मन फेरियो’गीतले आमाबुबाको अभावमा दाजुले आफ्ना सबै सपना त्यागेर भाइको उज्ज्वल भविष्य निर्माणका लागि गरेको संघर्षको कथा बोल्छ। भाइलाई विदेश पठाउन गरेको अथक मेहनत र त्यागपछि, विदेश पुगेको भाइले दाजुलाई बिस्तारै बेवास्ता गर्न थालेपछि सम्बन्धमा आएको दूरी, पीडा र आत्मसंघर्षलाई गीतमा संवेदनशील ढंगले प्रस्तुत गरिएको छ। समाजमा दिनप्रतिदिन बढ्दै गएको पारिवारिक विछोडको यथार्थलाई गीतले जीवन्त रूपमा उजागर गरेको छ।
गीतका शब्द सर्जक कृष्ण क्षेत्री ‘नेपालीमान्छे’का हुन्। संगीत संयोजन तथा एरेन्ज साहस शाक्यले गर्नुभएको छ भने गीतमा अनन्त अजयको भावपूर्ण स्वर सुन्न सकिन्छ। “दाजुभाइबीको सम्बन्धको मूल्य, त्याग र भावनात्मक यथार्थलाई कलात्मक ढंगले प्रस्तुत गरिएको ‘मन फेरियो’ आधुनिक नेपाली संगीतप्रेमीका लागि प्रतीक्षित गीतमध्ये एक बन्ने अपेक्षा गरिएको छ।” सर्जक नेपालीमान्छेले भन्नुभयो ।
गन्तव्य एग्रो भिलेज रिसोर्टको प्रस्तुतिमा तयार भएको गीतको म्युजिक भिडियो भुपेन चौधरीको निर्देशनमा निर्माण गरिएको हो। भिडियोमा अभि मल्ल, मनिषा भण्डारी, रमेश पराजुली, अनुज क्षेत्री र प्रिया क्षेत्रीलगायत कलाकारको सशक्त अभिनय रहेको छ। गीत केही दिनभित्र ‘कृष्ण क्षेत्री नेपालीमान्छे’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिने तयारी गरिएको गीतका सर्जक नेपालीमान्छेले बताउनुभयो ।
यसअघि पनि गन्तव्य एग्रो भिलेज रिसोर्टको प्रस्तुतिमा ‘गन्तव्य’ बोलको गीत सार्वजनिक भएको थियो। उक्त गीतमा कृष्ण क्षेत्री ‘नेपालीमान्छे’कै शब्द तथा संगीत रहेको थियो भने स्वर गायक राज सिग्देलले दिनुभएको थियो।
पश्चिम नवलपरासीको भूमही निवासी सर्जक कृष्ण क्षेत्री ‘नेपालीमान्छे’का सिर्जनाले पछिल्ला वर्षहरूमा नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाएका छन्। उहाँको ‘जलाएर मुटु’ गीतले दर्शक–श्रोतामाझ उल्लेखनीय लोकप्रियता हासिल गर्दै वि.सं. २०८१ मा गौतम बुद्ध म्युजिक अवार्ड अन्तर्गत उत्कृष्ट शब्दतर्फ सम्मान समेत प्राप्त गरेको थियो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस