

परासी, १८ साउन । नवलपरासी उद्योग वाणिज्य संघको १६औँ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले कार्यभार सम्हालेसँगै चार जना व्यवसायीलाई कार्यकारिणी सदस्यमा मनोनीत गरेको छ।
सोमबार बसेको कार्यसमितिको पहिलो बैठकले संघको विधानअनुसार लेखापढी व्यवसायी अर्जुनबहादुर क्षेत्री, सुनवल–१२ भूमहीस्थित लक्ष्मी रेमिटान्सकी सञ्चालक लक्ष्मी पन्थी पौडेल, रामग्राम–२ स्थित नीलम सप्लायर्सका सञ्चालक रमेश यादव तथा रामग्राम–१५ शुक्रौलीस्थित सिद्धी विनायक आयल्स प्रालिका सञ्चालक अमितकुमार गोयनकालाई कार्यकारिणी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो।
संघका अध्यक्ष नगेन्द्र अग्रहरीले विधानअनुसार थप एक जना सदस्यलाई पछि मनोनयन गरिने जानकारी दिनुभयो । संघको २५ सदस्यीय कार्यसमितिमा १९ जना निर्वाचनबाट, पाँच जना मनोनयनबाट तथा एक जना निवर्तमान अध्यक्ष रहने व्यवस्था रहेको छ।
यसअघि सम्पन्न निर्वाचनबाट अध्यक्षमा नगेन्द्र अग्रहरी, वरिष्ठ उपाध्यक्षमा राजेश कुमार गुप्त, उद्योग उपाध्यक्षमा तारा आचार्य, वाणिज्य उपाध्यक्षमा रामकुमार गुप्ता, महासचिवमा भोला पराजुली, सचिवमा बालकिशुन गुप्ता बानिया तथा कोषाध्यक्षमा गिरीराज पाण्डेय निर्वाचित हुनुभएको थियो ।संघको निवर्तमान अध्यक्ष ओमप्रकाश अग्रहरी हुनुहुन्छ ।
त्यस्तै खुला सदस्यतर्फ चन्द्रप्रकाश गुप्ता, किशुनाथ बानिया, राजेश गुप्ता तेली, सन्दीप कुमार स्वर्णकार, गणेशप्रसाद अग्रहरी र सुनिल कसौधन, एसोसियट सदस्यतर्फ विनोद अग्रहरी, वस्तुगत सदस्यतर्फ राजु देवान तथा क्षेत्रगत सदस्यतर्फ क्षेत्र नं. १ बाट मनोज गिरी, क्षेत्र नं. २ बाट कमलेश गुप्ता, क्षेत्र नं. ३ बाट लीलाधर चापागाईं र क्षेत्र नं. ४ बाट प्रकाशनारायण चौधरी निर्वाचित हुनुभएको थियो भने लेखा समिति संयोजकमा सीता कुँवर तथा सदस्यमा विद्यासागर शर्मा र संजयकुमार जयसवाल निर्वाचित हुनुभएको थियो ।
नयाँ कार्यसमितिले निजी क्षेत्रको हकहित संरक्षण, उद्योग–व्यवसाय प्रवद्र्धन तथा जिल्लाको आर्थिक गतिविधिलाई थप सशक्त बनाउने लक्ष्यका साथ काम अघि बढाउने अपेक्षा गरिएको छ।

