

मोहन पौडेल
परासी, २६ असार । उपचारको पहुँचबाट टाढा रहेका अपांगता भएका व्यक्तिलाई लक्षित गर्दै पश्चिम नवलपरासीको पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। शिविरबाट ७५ जना अपांगता भएका व्यक्तिहरुले प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा प्राप्त गरेका छन् ।
पाल्हीननदन अस्पतालमा बुधबार गरिएको शिविरबाट गाउँपालिका भित्रका ४० जना अपांगता भएका व्यक्तिले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा प्राप्त गरेका हुन् । शिविरका क्रममा स्वास्थ्य परीक्षण गराएका २१ जनामा थप विशेषज्ञ उपचार आवश्यक देखिएपछि उनीहरूलाई थप उपचारका लागि विभिन्न अस्पतालमा रिफर गरिएको आयोजकले जनाएको छ ।
यस्तै प्रतापपुर गाउँपालिकाको जगन्नाथपुर अस्पताल सेमरीमा गरिएको शिविरमा ३५ जनाले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए । यूनाइटेड मिसन टु नेपाल (यूएमएन) को सहयोगमा सुनवल सामुदायिक विकास केन्द्र, सुनवलद्धारा सञ्चालित अपांगता समावेशी विकास परियोजनाको आयोजनामा सम्पन्न शिविरमा स्टार अस्पताल, ललितपुरका विशेषज्ञ चिकित्सकहरू अर्थोपेडिक सर्जन डा.सुधिन व्यञ्जनकार, डा.दीपक महर्जन लगायतको टोलीले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरेको सुनवल सामुदायिक विकास केन्द्रकी पुनःस्थापना तथा समावेशी संयोजक राधा सापकोटाले दैनिक24 खबर डटकमलाई जानकारी दिनुभयो ।

शिविरमा परीक्षणका क्रममा थप उपचार आवश्यक देखिएका सेवाग्राहीलाई अवस्था अनुसार विभिन्न अस्पतालमा रिफर गरिएको छ। विशेषज्ञ चिकित्सकहरूले रोगको पहिचानसँगै घरमै नियमित रूपमा गर्न सकिने व्यायाम, पुनस्र्थापना अभ्यास तथा स्वास्थ्य व्यवस्थापनका उपायबारे पनि परामर्श दिएका थिए।
परियोजनाका संयोजक श्यामसुन्दर ढुंगानाका अनुसार उपचारको पहुँचबाट वञ्चित तथा आर्थिक, सामाजिक, भौगोलिक रूपमा पछाडि परैका अपांगता भएका व्यक्तिहरूलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यका साथ शिविर आयोजना गरिएको हो। यस्ता कार्यक्रमले समयमै रोगको पहिचान, उपचारमा सहज पहुँच तथा अपांगता भएका व्यक्तिको स्वास्थ्य अधिकार सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।

शिविरबाट लाभान्वित सहभागीहरूले गाउँमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउन पाएको, थप उपचार आवश्यक परे कहाँ जाने भन्ने स्पष्ट जानकारी प्राप्त भएको तथा दैनिक जीवनमा अपनाउन सकिने व्यायाम र उपचार विधिबारे सिक्न पाएको बताएका छन्। उनीहरूका अनुसार यस्तो सेवा नियमित रूपमा सञ्चालन हुन सके अपांगता भएका व्यक्तिहरूको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार आउने विश्वास छ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले अपांगता भएका व्यक्तिहरूको स्वास्थ्य उपचार र परामर्शका लागि सञ्चालन गरिएको शिविर समुदायका लागि अत्यन्तै आवश्यक रहेको बताउँदै गाउँपालिकाले पनि आवश्यक समन्वय र सहयोगलाई निरन्तरता दिने बताउनुभयो ।
ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा पु¥याउने यस्ता पहलले उपचारबाट टाढा रहेका नागरिकमा नयाँ आशा जगाएको छ। सेवा पहुँचको अभावका कारण वर्षौंदेखि समस्या झेलिरहेका धेरैका लागि यो शिविर केवल स्वास्थ्य परीक्षणमा सीमित नभई गुणस्तरीय उपचारतर्फ अघि बढ्ने महत्वपूर्ण अवसर बनेको यूएमएनका परियोजना व्यवस्थापक अर्जुन तामाङले बताउनुभयो ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकामा विगत चार वर्षदेखि अपांगता समावेशी विकास परियोजना सञ्चालनमा छ । अपांगता भएका व्यक्तिहरुको हकअधिकार सुनिश्चित गर्दै जीविकोपार्जन र नीति निर्माण तहमा नेतृत्वदायी भूमिकामा पुर्याउन सञ्चालन गरिएको यो परियोजनाले दुवै पालिकामा रहेका अपांगता भएका व्यक्तिहरुको रोजगारी र आयआर्जन प्रवद्र्धनका लागि स्थानीय पालिकाहरुसँग समन्वय गर्ने, क्षमता विकास गर्ने, शिक्षामा पहुँच वृद्धि गर्ने, पहुँचयुक्त वातावरण निर्माण गर्ने, उनीहरु माथि हुने हिंसा र दुव्र्यहार न्यूनीकरण, उपचार तथा पुनःस्थापना गर्ने लगायतका कार्यहरु गर्दै आएको छ ।
