२०८३ अषाढ २६, शुक्रबार
24 खबर अपडेट

रौतहटमा चोर समूहको आतंक : देवाही गोनाहीमा एकै रात तीन घरमा चोरी प्रयास, दुई घरबाट लाखौँको धनमाल चोरी

२०८३ अषाढ २६, शुक्रबार प्रकाशित ( घण्टा अघि) ४९ पाठक संख्या

अशोक यादब
रौतहट, २६ असार । रौतहटको देवाही गोनाही नगरपालिका–७ मा चोर समूहको सक्रियता बढ्दै गएको देखिएको छ। असार २५ गते बिहिवार राति करिब १ बजे एकै रात तीन घरमा चोरीको प्रयास भएकोमा दुई घरबाट चोरहरूले नगद, गरगहना तथा अन्य बहुमूल्य सामान चोरी गर्न सफल भएका छन्।
स्थानीयका अनुसार चोरहरूले वडा नम्बर ७ निवासी पुरन राय यादव र दिलीप राय यादवको घरमा चोरी गरेका हुन्। पुरन राय यादवको घरबाट करिब ६ लाख रुपैयाँ बराबरका सुनचाँदीका गरगहना, लत्ताकपडा तथा अन्य सामग्री चोरी भएको जनाइएको छ।
चोरीपछि चोरहरूले घरबाट करिब ३०० मिटर पूर्वतर्फ रहेको लुलिमाई देवस्थान नजिकको रुखमुनि चोरीका सामान छुट्याएको र काम नलाग्ने केही पुराना सामग्री त्यहीँ फालेर फरार भएको स्थानीयले बताएका छन्।
यस्तै, दिलीप राय यादवको घरबाट पनि गरगहना, लत्ताकपडा तथा नगद रकम चोरी भएको बताइएको छ। चोरहरूले घरबाट करिब ४०० मिटर पूर्वतर्फ रहेको नहरको डिलमा चोरीका सामान बाँडफाँट गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटनाको जानकारी पाएलगत्तै स्थानीयले इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर स्थलगत निरीक्षण तथा आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ। पछिल्लो समय देवाही गोनाही क्षेत्रमा चोरीका घटनाहरू बढ्न थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ। उनीहरूले रात्रीकालीन सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन तथा चोरीमा संलग्न व्यक्तिहरूलाई यथाशीघ्र पक्राउ गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस