२०८३ अषाढ २६, शुक्रबार
24 खबर अपडेट

ट्रकको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

२०८३ अषाढ २६, शुक्रबार प्रकाशित ( मिनेट अघि) ३२ पाठक संख्या

परासी, २६ असार । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको हरकट्टामा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय परासीका अनुसार साँझ करिब ६:४० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ४३३ नम्बरको मार्बल लोड गरेको ट्रक विपरीत दिशाबाट आउँदै गरेको ग १ क २९६५ नम्बरको ट्रकसँग ठोक्किएको थियो। ठक्करपछि अनियन्त्रित बनेको ट्रकले सडकमा हिँडिरहेका पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी सुनवल नगरपालिका–१२ हरकट्टा निवासी ६५ वर्षीय रामु रेग्मी गम्भीर घाइते भएका थिए। उनको टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। उपचारका लागि जिल्ला अस्पताल परासी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न दुवै ट्रक र दुवै चालकलाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा लु २ ख ४३३ नम्बरको ट्रकका चालक सुनवल नगरपालिका–३ निवासी ३७ वर्षीय धर्मराज चमार र ग १ क २९६५ नम्बरको ट्रकका चालक रुपन्देहीको देवदह नगरपालिका–९ भलुही निवासी ३५ वर्षीय किसान खड्का रहेका छन्।
मृतकको शव जिल्ला अस्पताल परासीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस