

परासी,१० साउन । एम्नेष्टी इण्टरनेशनल समूह ३१ परासीको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ।
संस्थाको २९औँ साधारणसभा तथा २४औँ अधिवेशनबाट निर्वाचित संयोजक राजु देवान नेतृत्वको नयाँ कार्यसमितिले आइतबार एक विशेष समारोहबीच पदभार ग्रहण गरेको हो।
कार्यक्रममा रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भई नवनिर्वाचित नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
उपमेयर चौधरीले मानवअधिकार, सामाजिक न्याय र नागरिक उत्तरदायित्वको क्षेत्रमा एम्नेष्टी इण्टरनेशनल समूहले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा स्थानीय सरकार र समुदायसँग थप नजिकिएर प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो ।
नवनिर्वाचित संयोजक राजु देवानले मानवअधिकार संरक्षण, सामाजिक उत्तरदायित्व तथा समुदायमुखी कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो,“यो संस्थाको गरिमालाइ घट्न दिने छैन्, तपाइहरुको सुझावलाई मनन गर्दै विद्यालय तथा समुदाय स्तरमा मानवअधिकार शिक्षा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ, सबैको साथ, सहयोगको अपेक्षा गरेको छु।”
पदभार ग्रहणसँगै नवनिर्वाचित अध्यक्ष देवान नेतृत्वको समितिले विभिन्न समयमा संस्थाको नेतृत्व सम्हाल्दै महत्वपूर्ण योगदान पु¥याएका ६ जना पूर्व संयोजकहरूलाई सम्मान गरेको छ । अधिवक्ता धन शर्मा, विजय जयसवाल, हुसेन अन्सारी लगायतका पूर्व संयोजकहरूलाई सम्मान गर्दै संस्थाले उहाँहरुको योगदानको उच्च कदर गरेको अध्यक्ष देवानले बताउनुभयो ।

कार्यक्रममा पूर्व नगर उपप्रमुख रम्भा कुँवर, नवलपरासी उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष नगेन्द्र अग्रहरी, उपाध्यक्ष राजेश कुमार गुप्त, एम्नेस्टी इण्टरनेशनल समूह ३१ परासीका पूर्व संयोजक तथा निर्वाचन अधिकृत विजय जयसवाल लगायतले शुभकामना मन्तव्य राख्दै नयाँ नेतृत्वले संस्थालाई अझ उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभएको थियो ।
नवनिर्वाचित कार्यसमितिमा संयोजक देवानसहित उपसंयोजक रञ्जित शर्मा, सचिव सुकरात गौड, सहसचिव पुरुषोत्तम तिवारी, कोषाध्यक्ष निरुता चौधरी तथा सदस्यहरू निर्मलादेवी जयसवाल, मुकेश नारायण लोनिया, अनिल बनिया र आदित्य प्रजापति रहनुभएको छ।

