

परासी,३० असार । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा महिलाको क्षमता अभिवृद्धि, नेतृत्व विकास र सांस्कृतिक संरक्षणलाई लक्ष्य बनाएर सञ्चालन गरिएको मादल बजाउने सीपमूलक तथा उद्घोषण तालिम सम्पन्न भएको छ।
नमूना महिला समाज, रामग्राम–३, परासीको आयोजना तथा रामग्राम नगरपालिकाको सहयोगमा सञ्चालित छुट्टाछुट्टै तालिममा संस्थामा आबद्ध ५० जना महिलाहरुको सहभागिता थियो । तालिममार्फत सहभागी महिलाले मादल बजाउने कला, सार्वजनिक रूपमा बोल्ने शैली तथा प्रभावकारी उद्घोषणसम्बन्धी व्यावहारिक ज्ञान हासिल गरेका छन्।

नमूना महिला समाजकी अध्यक्ष सरिता पौडेलले महिलाको क्षमता अभिवृद्धि र सशक्तीकरणमा यस्ता तालिम प्रभावकारी भएको बताउँदै सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “महिलाले अवसर पाए आफ्नो क्षमता प्रमाणित गर्न सक्छन्, यो तालिम अन्त्य होइन, आत्मविश्वास, नेतृत्व र आत्मनिर्भरतातर्फको नयाँ यात्रा हो।”
समापन समारोहलाई सम्बोधन गर्दै रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले महिलाको सशक्तीकरण केवल नारामा सीमित नभई सीप, आत्मविश्वास र अवसरसँग जोडिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “सीप सिकेकी महिला परिवारको मात्र होइन, समाजको पनि बलियो आधार बन्छिन्, नगरपालिकाले महिलालाई आत्मनिर्भर बनाउने यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तर प्राथमिकता दिनेछ।”

मादल बजाउने तालिममा श्रुति संगीत विद्यालयका सञ्चालक लोकबहादुर मिजारले प्रशिक्षण दिनुभएको थियो भने उद्घोषण तालिममा अधिवक्ता सरस्वती शर्माले सहजीकरण गर्नुभएको थियो। प्रशिक्षकहरूले सहभागीलाई व्यावहारिक अभ्यासमार्फत प्रभावकारी प्रस्तुति र सांगीतिक सीप विकासमा सहयोग गरेका थिए।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष गणेशकुमारी चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन सचिव कविता ज्ञवालीले गर्नुभएको थियो। सहभागी महिलाहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यक्तिगत विकास, सामाजिक नेतृत्व तथा सांस्कृतिक गतिविधिमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
