२०८३ अषाढ २१, आईतबार
24 खबर अपडेट

प्रतापपुरमा लागूऔषध दुर्व्यसनविरुद्ध युवा सचेतना

२०८३ अषाढ २१, आईतबार प्रकाशित ( घण्टा अघि) १०२ पाठक संख्या

परासी, २१ असार। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा लागूऔषध दुर्व्यसन नियन्त्रण तथा रोकथाम सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको आयोजना तथा यूनाइटेड मिसन टु नेपाल (यूएमएन) र सुनवल सामुदायिक विकास केन्द्रको सहयोगमा आयोजित कार्यक्रममा स्थानीय करिब १०० जना युवाको सहभागिता रहेको थियो।

IMG 20260705 WA0004

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले युवाहरू राष्ट्रको अमूल्य सम्पत्ति भएकाले उनीहरूलाई लागूऔषधको कुलतबाट जोगाउन परिवार, समुदाय, विद्यालय र सरोकारवाला सबै पक्षको साझा जिम्मेवारी रहेको बताउनुभयो।
उहाँले सचेतना मात्रै होइन, युवालाई सकारात्मक गतिविधिमा जोड्ने वातावरण निर्माणमा गाउँपालिका सक्रिय रहेको उल्लेख गर्नुभयो ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक मदन थापाले लागूऔषध दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा गम्भीर असर पार्ने भएकाले यसको नियन्त्रणका लागि प्रहरी समुदायसँग हातेमालो गरेर अघि बढिरहेको बताउनुभयो।
उहाँले लागूऔषधविरुद्धको अभियानमा युवाहरू स्वयं अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
इलाका प्रहरी कार्यालय बेलाटारीका प्रमुख प्रहरी निरीक्षक रेशमलाल पौडेलले लागूऔषधको जोखिम, कानुनी व्यवस्था तथा यसबाट बच्ने उपायबारे जानकारी गराउँदै सचेत र जिम्मेवार नागरिक बन्न युवाहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रममा प्रहरी निरीक्षक आशिष पाण्डेले प्रशिक्षण गर्दै लागूऔषध दुर्व्यसनका कारण, असर, कानुनी पक्ष तथा रोकथामका उपायबारे विस्तृत जानकारी दिनुभएको थियो। उहाँले युवाहरूलाई गलत संगत र क्षणिक आकर्षणबाट टाढा रही आफ्नो भविष्य सुरक्षित बनाउन प्रेरित गर्नुभयो।
सोही अवसरमा परिवर्तन फाउन्डेसनका सुनिल गुरुङले आफ्नो जीवनको सुधारात्मक यात्रा सुनाउँदै लागूऔषधले कसरी जीवनलाई अन्धकारतर्फ धकेल्छ र दृढ इच्छाशक्ति तथा समाजको सहयोगले पुनः सम्मानजनक जीवनमा फर्किन सकिन्छ भन्ने अनुभव सुनाउनु भएको थियो ।
यस किसिमका सचेतनामूलक कार्यक्रमले युवामा लागूऔषधविरुद्ध सकारात्मक सोच विकास गर्नुका साथै सुरक्षित, स्वस्थ र जिम्मेवार समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने सुनवल सामुदायिक विकास केन्द्रद्धारा सञ्चालित अपांगता समावेशी विकास परियोजनाका संयोजक श्यामसुन्दर ढुंगानाले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस