२०८२ आश्विन २७, सोमबार
24 खबर अपडेट

औपचारिकतामा रुमलिएको दशैँ

२०८२ आश्विन ७, मंगलबार प्रकाशित ( हफ्ता अघि) २८६ पाठक संख्या

कृष्ण समर्पण

मानव सभ्यताको विकासक्रम र यसको गतिशीलतासँगै मानव जातिले आफ्नो रहनसहन,विशेषता, सहजता, चेतना र व्यवहार अनुरूप समय क्रमसँगै विभिन्न रीति, स्थिति र परम्परा निर्माण गरे । सोही क्रममा कति सोच विचार गरेर र कति निरन्तरता स्वरूप  रीतिरिवाजहरू आजसम्म पनि प्रचलित छन् ।

परापूर्वकालमा मानिसलाई एकै ठाउँमा भेला गर्न ,सन्देश प्रवाह गर्न, छलफलमा जुटाउन, नेतृत्व गर्न र नीति नियमको पालना गर्न तथा गराउन हिजो आज जस्तो सहज र छरितो थिएन । मानिसका विभिन्न सोच, चिन्तन र शैलीका कारण पनि सबै मानिसहरू एउटै विचार ,आस्था र नियममा बस्ने कुरा निकै कठिन थियो ।

समय क्रमसँगै मानिसहरूमा आएको विचार परिवर्तन, चिन्तन शैली,  आस्था तथा समाजमा लिखित -अलिखित रूपमा रही आएका धार्मिक लेख अभिलेख र ग्रन्थहरूले भगवानप्रतिको आस्था, पाप पुण्यको अवधारणा र अनुशासनका विविध नियमहरूलाई धर्मको अटुट आस्थासँग जोडेका कारण मानिसहरू धार्मिक आस्था र पाप पुण्यप्रति बढी ज्ञात थिए र तीनै लिखित अलिखित नियम अनुरूप नै मानिसहरू समाजमा सहिष्णु,अनुशासित ,मर्यादित ,सामाजिक र मानवीय हितका व्यवहार गर्ने गर्दथे र नगर्नेहरू सोही अनुरूप समाजमा आलोचित थिए ।

सोही क्रमको निरन्तरताले नै विभिन्न चाडपर्व र रमाइलो गर्ने विशेष दिनहरू निर्माण हुँदै गए । चाड पर्व विशेषतः ईश्वरीय र दैविक शक्तिको आराधना गर्दै मानिसहरू एक आपसमा जम्मा हुने ,दुःख सुख साटासाट गर्ने ,मिठा मिठा परिकार खाने- खुवाउने तथा विविध उत्सवहरू सँगै रमाउने विशेष हर्षोल्लास क्षणहरू थिए र आजसम्म पनि केही हदसम्म निरन्तरतामा छन् । ती चाडपर्वहरूमध्ये बडा दशैँ एक महत्त्वपूर्ण र नेपालीहरूको महान चाड हो ।

विजयादशमी, दशहरा, दशैँ आदिका नामले समेत मनाइने दशैँ विशेष गरी दुर्गा भवानीले महिषासुर नामक असुरलाई दसौँ दिनका दिनमा पुगेर बध गरेको उपलक्ष्यमा र असत्यमाथि सत्य र दैत्य माथिको देवी देवताको विजयको उत्सवको रूपमा हर्षबढाइँ गरेर मनाइँदै आइएको छ|

तीनै किंवदन्ती र जनविश्वासले पनि के दर्साउँछ भने बडा दशैँ असत्य, अराजकता र दैत्य रूपी अन्धकारलाई परास्त गरी सत्य स्थापना, सभ्य  समाज र देवीदेवताका  उज्यालोको जित भएको उपलक्ष्यको रूपमा समाजका हरेक तह र तप्काका जनहरूले हर्षोल्लासपूर्वक मनाउने पर्व हो ।

एकातिर भगवानप्रतिको आस्था र आराधना ,अर्कोतर्फ दुःख सुख साटासाट गरी एक अर्कामा भातृत्व र सद्‍भाव फैलाउने पर्व दशैँ हरेक दृष्टिले आज पनि उत्तिकै सान्दर्भिक छ ।

आफ्ना दुःख,पीडालाई बिर्सिएर एक अर्काको सुखमा रमाउने, दुःखमा साथ र सद्‍भावपूर्ण समान अनुभूति प्रकट गर्ने, अरूलाई शुभेच्छा र आशीर्वाद दिँदै सत्कर्म र असल व्यवहार गर्न उत्प्रेरित गर्ने, एक आपसमा मिठा परिकार आदान प्रदान गर्ने, दान दातव्य गर्दै समाजका हरेक व्यक्तिहरूको अस्तित्वलाई समान रूपमा सम्मान गर्ने यस दशैँ पर्व निकै महत्त्वपूर्ण छ । जसले सबै समाजलाई सौम्य, आस्थावान्,सत्कर्म र सेवाप्रति समर्पित गराउन मद्‍दत गर्दछ|

दसैँ भन्नेबित्तिकै हरेकका मानसपटलमा पूजा आराधना गर्ने ,पिङ खेल्ने, चङ्गा उडाउने, राम्रा कपडा लगाउने, मिठा मिठा परिकार खाने ,आफ्ना आफन्त जनका घरमा गएर रातो टिका, पहेँला जमरा र आशीर्वाद ग्रहण गर्ने,  मान्यजनको हातबाट उपहार स्वरूप दक्षिणा प्राप्त गर्ने पलको क्षण याद आइरहन्छ ।

हुन त मानिसको स्वभाव विगतका रमणीय यादको स्मरणमा रोमाञ्चित हुने,बाल्यकालका अतीतमा रमण गर्ने र विते- छुटेका समयका टुक्राहरूलाई कल्पनाका धागोमा उनेर वर्तमानका खाली ठाउँ भर्ने चेष्टा निरन्तर गरिरहने हुन्छ । विगत र वर्तमानका समयका पलहरूका तुलना बिचको भिन्नता ,कल्पना र यथार्थ बिचको फरकले गर्दा मानिसको दसैँ कतिपय क्षणमा सोचे अनुसार रमाइलो या नरमाइले पनि बन्न पुग्दछ ।

समयको निरन्तर गतिसँगै समाज, राष्ट्र र विश्वव्यापी रूपमा सरल पहुँचमा पुगेका इन्टरनेट, सञ्चारका माध्यम, र साधन विकासका पूर्वाधार, ज्ञानको दायरा, तथा यातायातको सुविधाले पनि मानिसका दुःख सुख, सङ्घर्ष र सफलता ,पीडा र ठक्कर , पसिना र श्रमहरू एक अर्काले देख्न, बुझ्न र महसुस गर्न सक्छन् । जसले गर्दा खुसी हुन कुनै पर्व नै कुर्नुपर्ने अवस्था पनि छैन|

तर पछिल्ला केही वर्षहरू दशैँ अधिकांशको घरमा फगत एउटा औपचारिकता र परम्पराको निरन्तरताको रूपमा खुसी बिर्सिएर भित्रिरहेको आभास हुन्छ । हाम्रो बाल्यकालमा जस्तो कतिपय स्वर्गीय आनन्द दिने दशैँका क्रियाकलापहरू आजकल किन -किन खल्लो खल्लो लाग्छन् ।

हुन त अहिलेको दशैँ पनि धेरै बालबालिकाका लागि बाल्यकालका स्वर्गीय दसैँ नै हो ।प्रविधि धन, सम्पत्ति र साधनहरूमाथिको पहुँच आफैमा नराम्रो हुँदै होइन |तर तिनीहरूको समुचित उपयोग हुन नसक्दा दशैँहरू केवल औपचारिकतामा सीमित रहेका छन्‌ । अधिकांशको घरमा कोही न कोही सदस्य परदेशमा छन्‌ ।सबै जना दसैँमा भेला हुन सम्भव पनि छैन ।

आजकल पहिले जसरी गाउँ गाउँमा बाबियो काटेर त्यसलाई बाटेर पिङ हालिँदैनन् । पिङ यदि बनि हाल्यो भनेपनि साथी दौँतरी गाउँमा छैनन् । दसैँका केही दिन अघिबाट मठ मन्दिर, विद्यालय, चौतारी, बाटा घाटा, सिँगारिन छाडेका छन्‌ । कमेरो र रातो माटोले पोतिन छाडेका छन्‌ ।

आजकल विदेशबाट बालबच्चाका लागि मामा माइजू वा काका काकीहरू यादको भारी बिसाउन होइन मागको भारी फोन, कपडा, पैसा बोकेर पुगेका छन्‌ । को आउँदै छ होइन कि के आउँदै छ विदेशबाट भन्नेमा बढी चासो र छटपटी छ मान्छेमा ।

उता दशैको अवस्था तासको खालमा, कौडाको फिँजाईमा तथा बोतलको छचल्क्याइमा निरीह बन्धन भएको जस्तो लाग्छ । कतै तस्विर कैद गर्ने हतारमा ,श्रव्य दृश्य सामग्री बनाउने चक्करमा या कपडाको रङ्ग र जोडा मिलाउने प्रहरमा दशैँ आफै अलमलिएको त होइन भन्ने भान हुन्छ । आफ्नो गाउँको मूलबाटो ,घर पुग्ने गोरेटो र आँगन गाउँका सबै मिलेर बाटो खन्ने, सफासुग्घर गरी सजाउने, पिङ  बाट्ने र ठुलो चौतारीको रूखमा  बाँधेर धित पुग्नेगरी पिङमा मच्चिन ती दिनहरू आज खासै छैनन्| मनका अनेकौँ रहर र कल्पनाको रमणीय पलहरूलाई खुसीका धागोले बाँधेर निलो आकाशरूपि खुल्ला हावामा दौँतरीका चङ्गाहरू हिजोआज उड्दैनन् ।

किनकि ती चङ्गा जसरी स्वयम्‌ दौँतरीहरू दिनहुँ आकाशबाट जहाजमा परदेश उडिरहेका छन्‌ ।वृद्ध भएका बा आमाका आँखामा एक्लोपन र सन्तानको तिर्सनाले खुसी पनि विस्तारै रङ्ग बगाएको कमेरो लिपिएको भित्तो जस्तै रङ्गहीन बन्दैछन् ।दशैँ केही थान फोटो सजाउने, सामाजिक सञ्जालमा शुभकामना छर्ने र तीनै तस्विर हेरी रमाउने कुरामा मात्रै सीमित किन भएको होला ?

चाड पर्वका नाममा र चाड पर्व कै समयमा हुने हुलदङ्गा, झैझगडा, तनाव र दुर्घटनाले यस्तो लाग्छ कि दशैँले खुसी लिएर आएको नभइ खुसी लिन आएको हो । दशैँको सुन्दर पक्षलाई बिर्सिएर हामी देखावटी हानथापमा लाग्दा हामीलाई बरु झन् बढी तनाव, आर्थिक बोझ र पारिवारिक तिर्सनाले झन् सताउनु सताएको छ| चाड पर्व विशेषका आफ्नै विशेषता पनि हुन्छन् ।

कतिपय अवस्थामा परम्परागत शैली र परिवेश झल्कने तवरले पर्वलाई मनाउनुले नै हामीले पर्व र त्यसको महत्त्वलाई बढी जगेर्ना गर्न सक्छौँ ।तर प्राय: हाम्रा कर्म `बिरालो बाँधेर गरिने श्राद्ध’ जस्तो हुँदै गइरहेको छ । हामीले भावी सन्ततिलाई दिने ज्ञान, सन्देश र वास्तविक कर्म र क्रियाकलापहरू व्यवहारमै प्रकट हुनु जरुरी पनि छ ।

नक्कली र कर्मकाण्डमै हामी रमाउन थालियो भने, आफूले रमाइलो गर्दा अरूलाई ठेस पुर्‍याउने काम गर्न थालियो भने व्यक्ति, आस्था, सद्‍भाव र आपसी मेलमिलाप भन्दा  भौतिक सम्पत्ति र वस्तुको आधारमा खुसीको निर्धारण गर्न थालियो भने ,बुढापाका वृद्ध र ज्ञानी हजुर बुवा हजुरआमाका अनुभव सङ्घर्षका पल र इतिहासको सही ज्ञान नभई आधुनिकताका नाममा गरिने बिकाउ प्रवृत्तिमा लाग्यो भने दसैँ जस्ता चाडपर्वले समाजलाई जोड्न सक्दैन|अरूलाई देखाउने नाउँमा असीमित अतिरिक्त आकाङ्क्षाको पछि दौडिन छोडेर वास्तविक स्वर्गीय आनन्दका लागि प्रकृतिसँगको साक्षात्कार आफन्तको मिलन र आत्मीयता आशीर्वाद ग्रहण ,शुभकामना आदानप्रदान गर्दै  जे छ त्यसैमा आनन्द मान्ने प्रवृत्ति नअङ्गाल्ने हो भने हो भने दशैँ हरेक वर्ष पात्रोमा आउला तर हर्ष बोकेर जीवनमा कहिल्यै आउँदैन|

सुनवल-११ नवलपरासी

हाल: ब्रिसवेन,अष्ट्रेलिया

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस