२०८३ जेष्ठ ४, सोमबार
24 खबर अपडेट

डा.न्यौपानेका दुई कृति ‘सिमल भुवा’ र ‘मिस्कल’ लोकार्पण

२०८३ जेष्ठ ३, आईतबार प्रकाशित (0 घण्टा अघि) ८५ पाठक संख्या

मोहन पौडेल
परासी, ३ जेठ । साहित्यकार डा.श्यामप्रसाद न्यौपानेका दुई फरक विधाका कृति लोकार्पण गरिएको छ ।

नेपाल स्रष्टा समाज लुम्बिनी प्रदेशद्धारा आइतबार बर्दघाटमा आयोजित समारोहमा डा.न्यौपानेको कवितासंग्रह ‘सिमल भुवा’ र आख्यानसंग्रह ‘मिस्कल’ एकैसाथ लोकार्पण गरिएको हो ।
पश्चिम नवलपरासीको सुनवल–१२ भूमही निवासी नेपाल स्रष्टा समाज लुम्बिनीका अध्यक्ष डा.न्यौपानेले सोह्रौ कृतिको रुपमा कवितासंग्रह सिमल भुवा र सत्रौँ कृतिको रुपमा लघुकथा संग्रह मिस्कल प्रकाशनमा ल्याउनुभएको हो ।

समारोहमा लुम्बिनी बाङ्मय प्रतिष्ठानका अध्यक्ष ऋषि आजाद,नेपाल स्रष्टा समाज लुम्बिनीका संस्थापक अध्यक्ष साहित्यकार रुद्र ज्ञवाली, बुटवल बहुुमुखी क्याम्पसका प्राध्यापक शेषकान्त पौडेल एवं लेखक स्वयं डा. न्यौपानेले संयुक्त रुपमा दुवै कृतिको लोकार्पण गर्नुभयो ।
गजल, मुक्तक, खण्डकाव्य, लघुकथा,कविता लगायतका विभिन्न विधामा सक्रिय साहित्यकार न्यौपानेका यससँगै १७ वटा कृतिहरु प्रकाशित भएका छन् ।

सिमल भुवा उहाँको तेस्रो कवितासंग्रह हो । यसअघि उहाँले २०६५ सालमा ‘काँढा र खुर्पाहरु’ तथा २०७८ सालमा ‘हो कि झैँ अलका’ कवितासंग्रह प्रकाशन गर्नुभएको थियो ।

यस कवितासंग्रहमा समावेश ३६ वटा कविताहरु गद्यकविताको रुपमा रहेका छन् ।
सिमल भुवा कवितासंग्रहमा वर्तमान समयको आवाज, सामाजिक, राजनीतिक विसंगतीहीनता, नेताहरुको भ्रष्टाचार प्रवृत्ति र तिनप्रतिको व्यंग्य, जीवनका बहु भोगाइ र अनुभूति, भावनात्मक र मानवीय संवेदनाको प्रस्तुति लगायत विविध अन्तर्वस्तुका कविताहरु समेटिएका छन् ।
यस्तै मिस्कल लघुकथा संग्रह डा. न्यौपानेको दोस्रो लघुकथा संग्रह हो । यसअघि २०७७ सालमा उहाँले ‘माल्विका’ लघुकथा संग्रह प्रकाशन गर्नुभएको थियो ।

मिस्कल आख्यानमा वर्तमानमा बढ्दो सञ्चार सेवा र यसको प्रयोगमा सहजतासँगै सबैले भोगेको व्यवहारिक प्रभावलाई प्रस्तुत गर्न खोजिएको देखिन्छ ।

व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा हुन सक्ने घटनालाई यस लघुकथा संग्रहमा मिठो गरी उतारिएको छ । यस कृतिमा ५० वटा लघुकथा संग्रह छन् ।
कृति लोकपर्ण कार्यक्रममा साहित्यकार रुद्र सुवेदीले मिस्कल लघुकथा संग्रह र प्राध्यापक शेषकान्त पौडेलले सिमल भुवा कवितासंग्रहबारे टिप्पणी गर्दै साहित्यकार डा.न्यौपानेले कृति मार्फत प्रवाह गर्न खोजेको सन्देशबारे प्रकाश पार्नुभएको थियो ।

नेपालीमा स्नातकोत्तर र भाषाविज्ञानमा विद्यावारिधि हासिल गर्नुभएका डा.न्यौपाने विशेषतः कवि तथा गजलकारको रुपमा परिचित हुनुहुन्छ ।
वि.स.२०४६ सालमा सूर्यमुखी पत्रिकामा प्रकाशित स्वतन्त्रता शीर्षकको निबन्धबाट साहित्यलेखनको यात्रा शुरु गर्नुभएका न्यौपानेले २०५९ सालमा पहिलो कृति ‘बोली गजबको’ गजलसंग्रह प्रकाशन गर्नुभएको थियो । “आफ्नो देश, परिवेश, वातावरणमा मैले जे जस्तो घटना देखेँ, मूल्यांकन गरेँ,त्यही किसिमले मैले व्याख्या गरेको छु,दुवै कृति अब तपाईहरुका हुन, सकारात्मक सुझाव दिनुहोला”, उहाँले भन्नुभयो ।
नेपाल स्रष्टा समाज लुम्बिनी प्रदेशका उपाध्यक्ष साहित्यकार रमेश समर्थनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लुम्बिनी बाङ्मय प्रतिष्ठानका अध्यक्ष ऋषि आजाद, बर्दघाट प्रज्ञा प्रतिष्ठानका भाषासाहित्य विभाग प्रमुख होमनाथ आचार्य,बर्दघाट प्रेस क्लवका अध्यक्ष कृष्ण ढकाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो भने सोही अवसरमा नवलपरासी, रुपन्देही, पाल्पा लगायतका जिल्लाबाट आएका स्रष्टाहरुले आआफ्नो रचनावाचन समेत गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस