२०८३ बैशाख ३१, बिहिबार
24 खबर अपडेट

नेकपा (माले)का केन्द्रीय सदस्य भरत पाण्डेयद्वारा पार्टीबाट अलग भएको घोषणा

२०८३ बैशाख ३१, बिहिबार प्रकाशित ( मिनेट अघि) ३४ पाठक संख्या

मोहन पौडेल
परासी, ३१ वैशाख । नेकपा (माले)का केन्द्रीय कमिटी सदस्य भरत पाण्डेयले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट अलग हुने घोषणा गर्नुभएकोे छ ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ४ निवासी पाण्डेयले विहीबार वैशाख ३१ गतेदेखि लागू हुने गरी केन्द्रीय सदस्यसहित साधारण सदस्यबाट समेत राजीनामा दिनुभएको हो । पाण्डेय पार्टीको नवलपरासी नेतृत्व(जिल्ला सचिव)को भूमिकामा समेत हुनुहुन्थ्यो ।
पाण्डेयले पार्टीका महासचिवलाई सम्बोधन गर्दै दिएको राजीनामा पत्रमा आफूले हालसम्म पार्टीमा रहेर प्राप्त गरेको सद्भाव, सहयोग र विश्वासप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले महासचिवसहित सम्पूर्ण नेता तथा शुभेच्छुकप्रति सम्मान प्रकट गर्दै बामपन्थी आन्दोलनप्रति आफ्नो प्रतिबद्धता कायमै रहने उल्लेख गर्नुभयो ।
वि.स.२०५४ सालदेखि बामपन्थी आन्दोलनमा सक्रिय पाण्डेय अनेरास्ववियु पाँचौँको केन्द्रिय कार्यबाहक अध्यक्ष समेत बन्नुभएको थियो । २०५९ मा अनेरास्ववियु पाँचौमा आवद्ध हुँदै २०६३ मा उहाँ केन्द्रिय सदस्य बन्नुभएको थियो । वि.स.२०६९ सालमा पार्टीको रुपन्देही जिल्ला सदस्य हुँदै जिल्ला अध्यक्ष समेत हुनुभएका पाण्डेय २०७८ मा पार्टीको नवलपरासी जिल्ला सचिव, २०७९ मा वैकल्पिक केन्द्रिय सदस्य हुँदै २०८२ मा केन्द्रिय सदस्य र देशभक्त प्रजातान्त्रिक मञ्चको केन्द्रिय सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
राजीनामा पत्रमार्फत उहाँले आगामी दिनमा देशभक्ति तथा राष्ट्रवादी आन्दोलनमा सक्रिय रूपमा लागिरहने प्रतिबद्धता पनि जनाउनुभएको छ । “देश संकटमा रहेको बेला देशभित्रका शक्तिहरु विभाजित हुँदा राष्ट्रको स्वतन्त्रता कमजोर बन्दै गएको छ,यस्तो अवस्थामा राष्ट्रिय एकता र समझदारीको खाँचो छ”,उहाँले भन्नुभयो, “त्यो समाधानका लागि कुनै एक मात्र रंगको सिद्धान्तले गर्न सक्दैन,त्यसैले देशभक्तिको सिद्धान्तले मात्र देशको एकता, स्वतन्त्रता,सार्वभौमसत्ता बलियो बनाउन सक्छ ।”
गहिरो खाडलमा पारिएको देशलाई सकुशल उद्धार गर्न सबै प्रवृत्तिका देशभक्त एक हुनुपर्ने मान्यता आत्मसाथ गर्दै आफूले राजिनामा दिएको उहाँले बताउनुभएको छ । लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहेका पाण्डेयको यस निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस