

परासी, १० जेठ । पश्चिम नवलपरासी प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। रामग्राम नगरपालिका–८ उनवछमा गरिएको जाँचका क्रममा प्रहरीले ६०० एम्पुल प्रतिबन्धित लागूऔषध सहित एक जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी निरीक्षक सोमदास ढकालका शनिबार दिउँसो करिब ३ बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु २६ प ४४१४ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा रोकी जाँच गर्दा चालक सोही वडाको लोहसडाका ३८ वर्षीय राममिलन केवटको साथबाट लागुऔषध फेला परेको हो। उनको साथबाट डाइजेपाम २०० एम्पुल, फेनारगन २०० एम्पुल र बुप्रेनोर्फिन २०० एम्पुल गरी कुल ६०० एम्पुल लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय नवलपरासीको संयुक्त टोलीले उक्त लागूऔषध र कारोबारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका केवटमाथि लागुऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
