परासी,२७ साउन । बालमैत्री नगरको रुपमा परिचित पश्चिम नवलपरासीको रामग्राम नगरपालिका परासीमा अवस्थित पवन माध्यमिक विद्यालयमा एक शिक्षकले विद्यार्थीलाई कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।
विद्यालयमा कक्षा सातमा अध्ययनरत १७ वर्षीया छात्रा रुक्साना खातुनलाई प्रश्नको उत्तर नदिएको बहानामा सोमबार सोही विद्यालयका शिक्षक शिवसागर गिरीले कुटपिट गरेको अभिभावकले बताएका छन् ।
घटना बाहिरिएपछि दण्डरहित शिक्षा प्रणालीमै प्रश्न उठेको भन्दै अभिभावक रुष्ट बनेका छन् । अंग्रेजी विषय अध्यापन गर्दै आएका शिक्षक गिरीले सोधेको प्रश्नको उत्तर नदिएको भन्दै बालिकाको पिठ्युमा पिटेको विद्यार्थीहरुले बताएका छन् । कुटपिटपछि बेहोस भएकी रुक्सानाको अभिभावक बोलाएर शिक्षक गिरीले नै पृथ्वीचन्द्र अस्पतालमा उपचार गराएको र अवस्था सामान्य रहेको उनका पिता अब्दुल मुसलमान सुकैले जानकारी दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक शालिकराम लामिछानेले घटनाको विषयमा वास्तविकता बुझ्ने काम भइरहेको बताउनुभयो । यस विषयमा छलफल गर्न मंगलबार विद्यालय व्यवस्थापन समिति, वडा अध्यक्षसहितको बैठक बोलाइएको उहाँले बताउनुभयो ।
विद्यालयका अध्यक्ष विन्द्रेश हरिजनले घटनाबारे आफूले पनि सुनेको र वास्तविकता बुझ्ने काम गरिरहेको बताउनुभयो । रामग्राम नगरपालिका शिक्षा शाखका प्रमुख सुन्दर खनालले घटनाबारे भर्खर थाहा पाएको भन्दै बुझेर आवश्यक प्रक्रिया अघि बढाइने उल्लेख गर्नुभयो । आरोपित शिक्षक गिरीले भने आफूले नियतवश नभइ विद्यार्थीलाई पढाइमा उत्प्रेरित गर्न सामान्य पिटेको बताउनुभयो ।
विद्यार्थीलाई डर नदेखाउँदा उनीहरु पढाइमा ध्यान नदिने र नतिजा नै खस्कने अवस्थामा शिक्षक नै जवाफदेही हुनुपर्ने भएकोले विद्यार्थीको भविष्यका लागि सामान्य डर देखाएको तर अब यो घटनाले विद्यार्थीलाई पिट्न हुँदैन भन्ने पाठ आफूले सिकेको उहाँले बताउनुभयो । अभिभावकहरुले यस घटनाले बालअधिकार उल्लंघन र बालमैत्री नगरकै उपहास भएको भन्दै दण्डरहित शिक्षालाई व्यवहारमा लागू गर्न माग गरेका छन् ।