२०८२ अषाढ ३०, सोमबार
24 खबर अपडेट

विद्युत समस्या समाधान गर्न नवलपरासी उद्योग वाणिज्य संघद्धारा ध्यानाकर्षण

२०८२ अषाढ ३०, सोमबार प्रकाशित ( घण्टा अघि) १५६ पाठक संख्या

परासी, ३० असार । लो भोल्टेज तथा अनियमित विद्युत कटौतीका कारण पश्चिम नवलपरासीका उद्योगी व्यवसायी तथा आम सर्वसाधारणको दैनिकी प्रभावित बनेको छ ।
विद्युतको समस्या तत्काल समाधानको माग गर्दै नवलपरासी जिल्ला उद्योग वाणिज्य संघले नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।
संघका अध्यक्ष ओमप्रकाश अग्रहरीको नेतृत्वमा आइतबार संघका पदाधिकारीसहितको टोलीले विद्युत प्राधिकरण परासी वितरण केन्द्रको ध्यानाकर्षण गराएको हो ।
नवलपरासी जिल्लामा भइरहेको लो भोल्टेज र अनियमित विद्युत आपूर्तिका कारण उद्योग, व्यापार तथा सर्वसाधारणको दैनिकी प्रभावित भएको गुनासो बढेपछि समाधानको लागि ध्यानाकर्षण गराइएको  नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष अग्रहरीले बताउनुभयो ।
विद्युत्को विद्यमान समस्याको तत्काल समाधान गर्न अग्रहरीले माग गर्नुभयो ।

“औद्योगिक क्षेत्र तथा बजार क्षेत्रमा विद्युत आपूर्ति पटक–पटक अवरुद्ध हुनु, भोल्टेज अत्यन्त न्यून हुनु तथा पूर्व सूचना बिनै अघोषित लोडसेडिङजस्तै कटौती हुनु व्यवसायी र उपभोक्ताका लागि समस्याको विषय बनेको छ”,उहाँले भन्नुभयो ।
विद्युत समस्याका कारण उद्योगको उत्पादनमा ह्रास आउनुका साथै उपकरणहरु बिग्रने समस्या बढेको छ । अध्यक्ष अग्रहरीले भन्नुभयो – “विद्युत आपूर्तिको समस्या झन गम्भीर बन्दै गएको छ, उद्योग सञ्चालन गर्न मुस्किल भएको छ, जसले रोजगारी, उत्पादन र व्यवसायमै असर पारेको छ, यसप्रति नेपाल विद्युत प्राधिकरणले गम्भीर ध्यान दिनुपर्छ।”

नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रका प्रमुख सुरज रेग्मीले समस्या समाधानका लागि आवश्यक पहल भइरहेको जानकारी दिँदै प्रविधिगत र पूर्वाधारगत सुधारमार्फत समाधानको प्रयास भइरहेको बताउनुभयो ।

उहाँले राष्ट्रिय प्रसारण लाइनमा आउने अबरोध(सिस्टम) लाई यहाँबाट मात्रै समाधान गर्न नसकिने भन्दै कालीगण्डकी प्रसारण लाइन जडानमा सहजीकरण गरिदिन आग्रह गर्नुभयो ।

नवलपरासी उद्योग वाणिज्य संघले समस्याको दीर्घकालीन समाधानका लागि स्थानीय तह, जनप्रतिनिधि र सरोकारवालाको संयुक्त पहलको आवश्यकता देखिएको जनाएको छ।
संघका कार्यसमिति सदस्य राजु देवान,लेखा संयोजक अर्जुन क्षेत्री तथा उद्योगी व्यवसायीको पनि सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस