परासी, ७ असार । पश्चिम नवलपरासीमा घरेलु हिंसाका घटना बढ्दै गएको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले तथ्यांक सार्वजनिक गरेको छ। शुक्रबार परासीमा आयोजित अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रममा जिल्लामा ६ महिनाको अवधिमा १५८ वटा घरेलु हिंसाका घटना भएको तथ्यांक सार्वजनिक गरिएको हो ।
सन् २०२५ को जनवरीदेखि जुन महिनासम्मको मानवअधिकार हननका घटना विवरण सार्वजनिक गर्दै इन्सेक जिल्ला प्रतिनिधि नारायण पराजुलीले जिल्ला प्रहरी कार्यालयमा ६ महिनाको अवधिमा दर्ता भएका मात्र १५८ वटा घरेलु हिंसाका घटना रहेको बताउनुभयो । त्यसमध्ये १३५ वटा घटना मिलापत्र भएर समाधान भएका छन् ।
यसबाहेक जिल्लामा यस अवधि मानवअधिकार उल्लंघनका २८ वटा घटना भएको उहाँले बताउनुभयो । जसअनुसार हत्या ५, बालअधिकार र यौनजन्य हिंसा ११, बाल तथा बहुविवाह एक, बालिका बलात्कार एक, बालबालिका अपहेलित १, महिला अधिकार हनन १, ज्येष्ठ नागरिक हिंसा ४ र बहुविवाहका ४ वटा घटना भएको तथ्यांक सार्वजनिक गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख भगौती यादव(रुदल), प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी,प्रहरी उपरीक्षक अनुपम श्रेष्ठ, विभिन्न राजनीतिक दल,बार एसोसिएसन,जिल्ला अदालत,विभिन्न सरोकारवाला संघ संस्था लगायतका प्रतिनिधिहरुले मानवअधिकारका घटना न्यूनीकरणमा जोड दिएका थिए ।
C1