२०८२ अषाढ ५, बिहिबार
24 खबर अपडेट

स्काउट अभियानले स्वयंसेवी भावनाको विकास गरेको छः मुख्यमन्त्री आचार्य

२०८२ अषाढ ५, बिहिबार प्रकाशित (0 घण्टा अघि) ५२ पाठक संख्या

दाङ,५ असार –लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा प्रदेश स्काउट संरक्षक चेतनारायण आचार्यले नेपाल स्काउटको ७४औँ स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन ।
स्काउट अभियानले बालबालिका तथा युवाहरूको शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक विकासमा महत्वपूर्ण योगदान पु¥याएको मुख्यमन्त्री आचार्यले बताएका हुन ।
सन् १९०७ मा विश्वमा र वि.सं. २००९ (सन् १९५२) मा नेपालमा सुरु भएको स्काउट अभियान सात दशक पार गरिसकेको समेत स्मरण गरे । उनले स्काउटको माध्यमबाट बाल्यकालदेखि नै चरित्र निर्माण, नैतिकता, आत्मनिर्भरता, विपद् व्यवस्थापन, साहसिक गतिविधि, सामुदायिक सेवा तथा स्वयंसेवी भावना विकास हुँदै आएको बताए |
कोभिड–१९ महामारीका बेला स्काउट स्वयंसेवकहरूले जुनसुकै घडीमा अग्रपंक्तिमा खटिएर पु¥याएको योगदान प्रति मुख्यमन्त्री आचार्यले प्रशंसा र धन्यवाद प्रकट गरेका छन।
नेपाल स्काउट एक अनौपचारिक शिक्षामूलक संस्था भएकाले यसले बालबालिका तथा युवाहरूको सर्वांगीण विकासमा ठूलो भूमिका खेलेको उनको भनाइ छ । प्रदेश, पालिका र विद्यालयसम्म स्काउट अभियान विस्तार हुनु र अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरूमा सहभागीता बढ्नु सकारात्मक उपलब्धि भएको उनले उल्लेख गरेका छन ।
वि.सं. २०७७ कात्तिक ६ गतेदेखि प्रदेश संरचनामा स्काउट स्थापना भई जिम्मेवारी निर्वाह भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशका १०९ वटै स्थानीय तहमा स्काउटको सञ्जाल विस्तार भइसकेको जानकारी दिए। स्काउट अभियानको उद्देश्य, सिद्धान्त र कार्यक्रमहरूमा लुम्बिनी प्रदेश सरकारको पूर्ण समर्थन रहने विश्वास पनि उनले दिलाए |
उनले स्काउट शिक्षामार्फत प्रत्येक बालबालिका तथा युवालाई सक्षम, आत्मनिर्भर र राष्ट्रप्रेमी बनाई विपद् व्यवस्थापन तथा सामाजिक चेतनाका क्षेत्रमा “फस्र्ट रिस्पोन्डर” को रूपमा परिचालन गर्न सबै सरोकारवालाको ध्यानाकर्षण गराएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस