मोहन पौडेल
परासी, १९ जेठ । पश्चिम नवलपरासीको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८२ स्वीकृत भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको आइतबार सम्पन्न बैठकले प्रतिकार्य योजना स्वीकृत गरेको हो ।
जिल्लाका सरोकारवालाहरु सम्मिलित बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ लाई अद्यावधिक गरी अनुमोदन गरेको सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले जानकारी दिनुभयो ।
यस वर्षको मनसुनमा अत्याधिक वर्षा हुने प्रक्षेपण गरिएकोले मनसुनजन्य विपद् न्यूनीकरणका लागि समयमै पूर्वतयारीमा जुट्नुपर्ने अवस्था रहेको भन्दै बैठकले स्वीकृत भएको प्रतिकार्य योजना कार्यान्वयन गर्न सम्बद्द सरोकारवाला निकायलाई अनुरोध गरेको छ । सम्भावित विपद्लाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय,रेडक्रस, विषयगत सरकारी कार्यालय, गैरसरकारी संघ संस्थासँग समन्वय गरी विपद पूर्वतयारीलाई चुस्त बनाइ धनजनको क्षति हुन नदिने निर्णय गरिएको सहायक प्रजिअ भण्डारीले बताउनुभयो ।
नवलपरासी जिल्ला विशेषगरी बाढीबाट प्रभावित हुँदै आएकोले पूर्वतयारी र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सहभागिहरुले जोड दिएका थिए । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)को प्रमुख आतिथ्यमा भएको उक्त बैठकमा राजनीतिक दल तथा संघ संस्थाका प्रतिनिधिहरुले बाढीजन्य विपद् रोकथामका लागि जिल्लामा बग्ने खोला तथा नाला सफाइ एवं निकासको व्यवस्थपन गर्न जोड दिएका थिए ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष जेठ १८ गतेदेखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन ऋतुमा देशमा अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको साथै अधिकतम तापक्रम र न्यूनतम तापक्रम समेत देशभर सरदर भन्दा बढी रहने सम्भावना रहेको भन्दै बैठकले सबै स्थानीय तहहरुलाई मनसुनजन्य विपद्बाट प्रभावित र विस्थापित हुन सक्ने नागरिकलाई सुरक्षित साथ राख्ख सक्ने स्थानहरुको अबिलम्ब पहिचान गरी राख्न आग्रह गरको छ ।
बैठकमा सहभागि सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्याल, सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरी, बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्याय र रामग्राम नगरपालिकाकी विपद् व्यवस्थापन फोकल पर्सन सुमित्रा चौधरीले सम्भावित विपदको जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीलाई चुस्त बनाइएको जानकारीक दिनुभएको थियो ।
बैठकमा जिल्लास्थित सबै स्थानीय तहहरुले स्थानीय विपद् आपतकालिन कार्य संचालन केन्द्रलाई सुदृढ बनाई विपदको समयमा सक्रिय रुपमा परिचालित गरी विपद्का घटनाहरुको सूचना संकलन आदानप्रदान तथा उद्धारको कार्यमा समन्वय एवं सहकार्य गर्ने निर्णय गरिएको छ भने बाढी पहिरो, चटवाड, डुबान जस्ता विपद्का घटना र सोबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्न र क्षति न्यूनिकरणका लागि स्थानीय तह र सरोकारवाला निकायहरुबाट विद्यालय तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने निर्णय पनि गरिएको छ।
विषयगत सबै सरकारी निकाय, राजनीतिक दल एवं विपदसँग सम्बन्धित सबै गैरसरकारी संघ संस्था,निजी क्षेत्र तथा नागरिक समाजलाई मनसुनको समयमा आउन सक्ने बाढी तथा पहिरोबाट प्रभावित हुने नागरिकलाई आआफ्नो ठाउँबाट राहत उद्धार लगायत विपद् व्यवस्थापनका सबै कार्यमा एकजुट भई कार्य गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।
मनसूनको अवधिमा बाढी तथा डुबानका कारण ठूलो जनधनको क्षति हुने सम्भावनालाई मध्यनजर गर्दै सबै स्थानीय तहबाट स्थानीय विपद् व्यवस्थापन कोषमा यथेष्ठ मौज्दात रकमको व्यवस्था गर्न जिल्लास्थित सबै स्थानीय तहलाई बैठकले अनुरोध गरेको छ ।
विपद्का समयमा पीडित र प्रभावितका लागि आवश्यक पर्ने खाद्यान्न, औषधी सुरक्षित आश्रयस्थल, खानेपानी तथा सरसफाईको आवश्यक व्यवस्था तथा राहत वितरणमा एकद्वार प्रणालीको अवलम्बन गर्ने र विपद्का समयमा पानीजन्य रोग संक्रमण फैलिन सक्ने सम्भावना रहेकाले स्वास्थ्य कार्यालयबाट आवश्यक औषधि लगायतका स्वास्थ्य सामाग्रीको प्रवन्ध गर्ने निर्णय गरेको छ ।
मनसुनको समयमा राष्ट्रिय राजमार्ग अवरुद्ध हुन सक्ने भएकाले एक घण्टा भित्र राजमार्ग सुचारु गर्न डिभिजन सडक कार्यालय, बुटवल–नारायणगढ सडक स्तरोन्नती आयोजना, र हुलाकी राजमार्ग आयोजना लगायतका सम्बन्धित निकायहरुलाई तयारी अवस्थामा रहन निर्देशन गरिएको छ । जिल्लास्थित गण्डक नहरमा समेत अत्याधिक बाढी आउने र नहर तथा बाँधहरुः भत्कन सक्ने जोखिमलाई मध्यनजर गरी नेपाल गण्डक पश्चिम नहर सिंचाई व्यवस्थापन डिभिजन कार्यालयलाई विशेष सतर्कता अपनाउन निर्देशन गरिएको प्रजिअ रेग्मीले बताउनुभयो ।
गतवर्ष मनसुनजन्य विपद्बाट नवलपरासी जिल्लामा चट्याङ्गबाट एक पुरुषको मृत्यु तथा एक महिला घाइते,अविरल वर्षाबाट १० घर पूर्ण क्षति र ४८ घरमा आशिंक क्षति भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । बाढीका कारण सरावल गाउँपालिकामा झरही, धनेवा,हुलासी खोला र गण्डक नहरका कारण एक हजार १०० विघा, पाल्हीनन्दन गाउँपालिकामा झरही, धनेवा, तुरिया, पुसाहा र रामखण्डा खोलाका कारणले ९ सय ३३ विघा, बर्दघाट नगरपालिकामा खजुरा, बगटीया र आम्बास खोलाको कारणले ५०० विघा जमिन डुबान हुने गरेको छ।
यस्तै रामग्राम नगरपालिकामा तुरिया खोलाका कारणले २०० विघा, सुस्ता गाउँपालिकामा श्रीखोला, अम्चुर, पोटाहा र रायपुर खोला तथा गण्डक नहरका कारण ३०० विघा जमिन डुबानमा पर्ने गरेको छ भने सुनवल नगरपालिकामा तुरिया, पानभार तथा जर्गाहा खोलाका कारण कटानको समस्या हुने गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
C1