२०८२ अषाढ १७, मंगलबार
24 खबर अपडेट

नेकपा एस नवलपरासीद्धारा ११ बुँदे मागसहित प्रधानमन्त्रीको ध्यानाकर्षण

२०८२ बैशाख १९, शुक्रबार प्रकाशित ( महिना अघि) ३०५ पाठक संख्या

परासी, १९ वैशाख । नेकपा (एकिकृत समाजवादी) पश्चिम नवलपरासीले विभिन्न समसामयिक विषयहरुप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । उक्त पार्टीले आज जिल्ला प्रशासन कार्यालय परासी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको हो ।
पार्टीका केन्द्रीय सदस्य, लुम्बिनी प्रदेश उपाध्यक्ष एवं जिल्ला ईन्चार्ज बृहस्पति अधिकारी र जिल्ला अध्यक्ष कुमार आलेको नेतृत्वमा आएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारी मार्फत प्रधानमन्त्रीलाई पठाएको ज्ञापन पत्रमा सुशासन कायम गर्न र भ्रष्टाचार तथा तस्करी नियन्त्रण गर्न माग गरिएको छ ।
११ बुँदे ज्ञापनपत्रमा चैत १५ को राजवादी आन्दोलनलाई संकेत गर्दै प्रतिगमनकारी, अराजक र उदण्ड गतिविधिबाट सिर्जित तोडफोड,हत्या र हिंसालाई अविलम्ब नियन्त्रण गर्न माग गरिएको छ । नेकपा एसले भ्रष्टाचारमा संलग्न व्यक्तिहरुमाथि कसुर अनुसार कारवाही गर्न,सत्तापक्षीय भ्रष्टाचारीलाई उन्मुक्ति दिने प्रवृत्ति अन्त्य गर्न,किसानलाई समयमै रासायनिक मल र बीउ विजन उपलब्ध गराउन,सीमा क्षेत्रबाट भइरहेको चोरी निकासी नियन्त्रण गर्न माग गरेको छ ।
यसैगरी राष्ट्रिय स्रोत साधनको दोहनलाई नियन्त्रण र नियमन गर्न,मिटरव्याजी समस्या समाधान गर्न , राजावादी आन्दोलनका नाममा भइरहेका हिंसान्त्मक घटनामा संलग्नलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरिएको पार्टीका जिल्ला अध्यक्ष आलेले बताउनुभयो ।
पार्टीले बुटवल नारायणगढ सडक खण्डको दाउन्ने खण्डमा भइरहेको निर्माण कार्यलाई द्रुत रुपमा अघि बढाइ बर्खाअघि नै सहज आवागमनको व्यवस्था मिलाउन, आगामी वर्षको बजेट तथा नीति कार्यक्रममा कृषिजन्य उद्योग, लघु घरेलु तथा कच्चापदार्थ प्रशोधन उद्योगहरुलाई प्राथमिकतमा राख्न,रोजगारी सिर्जना,सामाजिक सञ्जालको प्रयोगबाट भइरहेको अराजकता नियन्त्रण गर्न पनि माग गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस