मोहन पौडेल
परासी, १९ वैशाख । पश्चिम नवलपरासीमा रक्त सञ्चार सेवालाई प्रभावकारी बनाउन समुदायको सहभागितालाई जोड दिएर अभियान सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीले स्थानीय सरकारसँगको सहकार्यमा उक्त अभियान शुरु गरेको हो ।
रक्तदान गर्नका लागि व्यक्ति तथा संघ संस्थालाई उत्प्रेरित गर्न र नियमित रक्तदानको बानी बसाल्नका लागि समुदायको संलग्नता खोजीएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीले बताउनुभयो ।
रगतको माग बढी तर संकलन कम हुँदा रगत अभावको समस्या भोग्नुपरेकोले गाउँ केन्द्रीत जागरण अभियान सञ्चालन गरी रक्तदानको महत्वको विषयमा प्रचार प्रसारमा जोड दिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “रक्तदान गर्दा कमजोर भईन्न्, मरिदैँन् तर नगरेमा बिरामीको भविष्यबारे भन्न सकिन्न् जस्ता सन्देशहरु जागरण अभियानमा प्रसार गरी समुदायको परिचालन होस् भन्ने हाम्रो उद्देश्य हो ।”
रेडक्रसले जिल्ला सदरमुकाम परासीमा ब्लड बैंक अर्थात रक्त सञ्चार केन्द्र सञ्चालन गर्दै आएको छ । जिल्लामा हाल मासिक करिब डेढ सय युनिट रगतको माग रहेको तर संकलन भने त्यसको दोब्बरले कमी रहेकोले माग अनुसारको रगतको आपूर्तिमा समस्या रहेको रेडक्रस जिल्ला शाखाका रक्त सञ्चार केन्द्र संयोजक सुरज केसीले बताउनुभयो ।
चेतना अभिवृद्धि गरी रक्तदानमा अभिप्रेरित गर्न शुक्रबार पाल्हीनन्दन गाउँपालिकाबाट जागरण अभियान शुरु गरिएको उहाँले बताउनुभयो । आज पाल्हीनन्दनको ३ नम्बर वडामा स्थानीय समुदायलाई रक्त सञ्चार सेवा र रक्तदानको महत्वको विषयमा सचेतना जगाइएको थियो । यो अभियानलाई पालिकाका अन्य वडाहरुमा पनि क्रमशः सञ्चालन गर्दै जिल्लाका चार वटै गाउँपालिकाहरुमा जागरण अभियान सञ्चालन गरिने केसीले बताउनुभयो ।
“राजमार्ग आसपासका क्षेत्रमा रक्तदानका कार्यक्रमहरु र रक्तदाताहरु पनि नियमित रहेको तर दक्षिणी क्षेत्रका पालिकाहरुमा चेतनाको अभावका कारण रक्तदानका कार्यक्रमहरु न्यून रुपमा हुने गरेकोले जागरण अभियान पनि सोही क्षेत्रमा केन्द्रित गरिएको हो”, उहाँले भन्नुभयो ।
रेडक्रसका स्थानीय उपशाखाहरुलाई सक्रिय बनाउँदै सहकारी लगायतका स्थानीय संघ संस्थाहरुलाई रक्तदान कार्यक्रमका लागि अभिप्रेरित गर्न जागरण कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको रेडक्रस जिल्ला शाखाका वरिष्ठ अधिकृत मुरारी गुप्ताले बताउनुभयो । उहाँले भन्नुभयो,“समुदायको संलग्नता बढाउन सके मात्र आवश्यकता परेको बेला रगत उपलब्ध गराउन सहज हुन्छ,रगत खोज्ने तर दान गर्न नखोज्ने प्रवृत्तिलाई अन्त्य गर्न आवश्यक छ।”
कार्यक्रममा पाल्हीनन्दन ३ का वडा अध्यक्ष गोधन हरिजनले रक्तदान सम्बन्धि विभिन्न भ्रमहरुका कारण ग्रामीण क्षेत्रका नागरिक रक्तदान गर्न हिच्कीच्याउने गरेको बताउँदै चेतना जगाउन आवश्यक रहेकोमा जोड दिनुभयो । रक्तदान र रक्तदाता अभिप्रेरित गर्न स्थानीय सरकार तत्पर रहेको बताउँदै वडा अध्यक्ष हरिजनले पाल्हीनन्दन गाउँपालिकाले आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन रेडक्रससँग सहकार्य गर्दै आएको उल्लेख गर्नुभयो ।
C1