मोहन पौडेल
परासी,२७ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी वैशाख ३ गते पश्चिम नवलपरासी आउनुहुने भएको छ ।
पार्टीले सञ्चालन गरिरहेको हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान अन्तर्गत पश्चिम नवलपरासीका विभिन्न स्थानमा हुने कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड ३ गते भैरहवा हुँदै नवलपरासी आउने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज भविश्वर तिवारी आजादले जानकारी दिनुभयो ।
माओवादी केन्द्र पश्चिम नवलपरासीको मंगलबार सम्पन्न बैठकले अभियान भव्य रुपमा सफल बनाउने निर्णय गरेको छ ।
पार्टीका जिल्ला इन्चार्ज आजादको अध्यक्षता तथा केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणि खनाल बलदेवको प्रमुख आतिथ्यमा भएको उक्त बैठकले अभियान अन्तर्गत जिल्लामा हुने कार्यक्रममा सक्रिय सहभागी हुन पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरुलाइ आह्वान गरेको छ ।
पार्टीका जिल्ला इन्चार्ज आजादका अनुसार वैशाख ३ गते बिहान १० बजे प्रतापपुरको बेलाटारी र दिउँसो २ बजे पाल्हीनन्दनको बेलाशपुरमा पार्टीले आयोजना गर्ने सभालाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुहुनेछ । सोही दिन दिउँसो ४ बजे सदरमुकाम परासीस्थित परासी क्याम्पसमा अध्यक्ष प्रचण्डको सहभागितामा जिल्लाका उद्योगी, व्यवसायी, समाजसेवी, बुद्धिजीवी,पत्रकार, नागरिक समाज लगायतसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । नवलपरासीको कार्यक्रम सकेर वैशाख ३ गते नै प्रचण्ड भैरहवा बस्ने कार्यक्रम छ।
बैठकमा पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल,केन्द्रीय सदस्यहरु घनश्याम यादव,दुलारी हरिजन लगायतको पनि सहभागिता थियोे । अभियान अन्तर्गत जिल्लामा सञ्चालन हुने कार्यक्रमलाई प्रभावकारी बनाउन तयारी तीव्र पारिएको उक्त पार्टीका केन्द्रीय सदस्य घनश्याम यादवले जानकारी दिनुभयो ।
फागुन १२ गतेदेखि शुरु भएको अभियानले पार्टीसँग नागरिकलाई जोड्न प्रभावकारी काम गरिरहेको माओवादीको निष्कर्ष छ । कोशी प्रदेशको झापाबाट शुरू भएको अभियान सुदूरपश्चिमको कञ्चनपुरमा पुगेर टुङ्ग्याउने माओवादीको तयारी छ ।
C1