२०८३ भाद्र २९, सोमबार
24 खबर अपडेट

नवलपरासीमा नेपाली ख्रीष्टियन नागरिक संघको ११औँ केन्द्रीय साधारणसभा सम्पन्न

२०८३ भाद्र २९, सोमबार प्रकाशित ( घण्टा अघि) ४० पाठक संख्या

मोहन पौडेल
परासी,२९ भदौ । नेपाली ख्रीष्टियन नागरिक संघको ११औँ केन्द्रीय साधारणसभा सोमबार पश्चिम नवलपरासीमा सम्पन्न भएको छ। बर्दघाट–७ जिमिरेभारस्थित पवित्र दर्शन चर्चमा आयोजित सभामा संघमा आबद्ध देशभरका प्रतिनिधि तथा अगुवाहरूको सहभागिता थियो ।
नेपाली ख्रीष्टियन नागरिक संघ जिल्ला शाखा नवलपरासीको आतिथ्यमा सम्पन्न साधारणसभाले संघको आगामी कार्यदिशा, संगठन सुदृढीकरण, सामाजिक उत्तरदायित्व तथा ख्रीष्टियन समुदायको अधिकारका विषयमा छलफल गरेको छ। साधारणसभामा सहभागी वक्ताहरूले ख्रीष्टियन समुदायका अधिकारको संरक्षणसँगै समाजप्रति उत्तरदायी र सेवामुखी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
संघका संस्थापक केन्द्रिय अध्यक्ष एवं वर्तमान राष्ट्रिय प्रवक्ता टीकराम आचार्यले धार्मिक तथा सामाजिक सद्भाव कायम गर्दै मुलुकको विकास र समृद्धिमा योगदान पु¥याउन ख्रीष्टियन समुदायको भूमिका अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले समुदायभित्रको एकता मजबुत बनाउँदै शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, विपद् व्यवस्थापन तथा मानवअधिकारका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
सभाले संघको रिक्त केन्द्रिय अध्यक्ष पदमा उपाध्यक्ष रामदुलारे महत्तोलाई चयन गरेको छ । संघका केन्द्रिय अध्यक्ष धनबहादुर तामाङले राजिनामा दिएका कारण उक्त पद रिक्त रहेको थियो । साधारणसभाले संघको विगतका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा संगठनलाई थप व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउने विषयमा महत्वपूर्ण छलफल तथा निर्णय गरेको संघका केन्द्रिय अध्यक्ष रामदुलारेले बताउनुभयो ।
पश्चिम नवलपरासीमा केन्द्रीय साधारणसभा आयोजना हुनु जिल्लाको लागि गौरवको विषय भएको बताउँदै नेपाली ख्रीष्टियन नागरिक संघका जिल्ला अध्यक्ष जीतबहादुर पुनले नवलपरासीको धार्मिक तथा सामाजिक विविधताबीचको सहअस्तित्व र सहकार्यलाई समेत मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।
सभामा केन्द्रिय सचिव सागर कार्कीले संघको वार्षिक प्रगति प्रतिवेदन,आगामी कार्ययोजना तथा आयव्यय विवरणसमेत पेश गर्नुभएको थियो । उक्त अवसरमा संघका जिल्ला सचिव यमबहादुर मगर, नवलपरासी ख्रीष्टियन मण्डली परिषदका जिल्ला सचिव आमोस तामाङ लगायतले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस