२०८३ भाद्र ३०, मंगलबार
24 खबर अपडेट

पृथ्वीचन्द्र अस्पतालमा रेडियोलोजिस्ट नहुँदा सेवा प्रवाहमा कठिनाइ

२०८३ भाद्र ३०, मंगलबार प्रकाशित ( घण्टा अघि) ८४ पाठक संख्या

मोहन पौडेल
परासी, ३० भदौ । पश्चिम नवलपरासीको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा रेडियोलोजिस्ट चिकित्सक नहुँदा सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको छ।
आवश्यक उपकरण भए पनि विशेषज्ञ चिकित्सकको अभावमा अस्पतालबाट प्रदान हुँदै आएका रेडियोलोजी सम्बन्धि कतिपय सेवा विगत चार महिनादेखि पूर्णरूपमा सञ्चालन हुन नसकेको अस्पतालले जनाएको छ ।
गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी भइ पृथ्वीचन्द्र अस्प्तालमा काजमा कार्यरत रेडियोलोजिस्ट डा. प्रकाश ढकालको गत वैशाखमा काजफिर्ता भएपछि अस्पतालमा रेडियोलोजिस्टको दरबन्दी रिक्त छ। विशेषज्ञ चिकित्सकको अभावमा अहिले मेडिकल अधिकृतमार्फत सीमित रूपमा अल्ट्रासाउन्ड (यूएसजी) सेवा सञ्चालन भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जगदीश चौधरीले जानकारी दिनुभयो ।
सेवा प्रवाहमा असहजता भएपछि विशेषज्ञ चिकित्सक तत्काल उपलब्ध गराउन प्रदेश सरकारसँग पहल भइरहेको उहाँले बताउनुभयो । “उपकरण छ, सेवा लिन आउने बिरामी पनि छन्, तर विशेषज्ञ चिकित्सक नहुँदा विशिष्ट सेवा प्रदान गर्न समस्या भएको छ।” अध्यक्ष चौधरीले भन्नुभयो ।
उहाँका अनुसार पृथ्वीचन्द्र अस्पतालबाट दैनिक करिब ८० देखि १०० जनासम्मले रेडियोलोजीसम्बन्धी सेवा लिने गरेका छन्। स्थानीयस्तरमै सहज र सुलभ स्वास्थ्य सेवा पाउने अपेक्षासहित अस्पताल पुग्ने बिरामी विशेषज्ञ चिकित्सकको अभावमा निराश भएर फर्कनुपर्ने अवस्था रहेको सेवाग्राहीको गुनासो छ ।
अस्पताल प्रमुख डा. बृजकुमार यादवका अनुसार हाल मेडिकल अफिसरबाट पेट तथा महिलासम्बन्धी सामान्य यूएसजी सेवा प्रदान भइरहेको छ। तर रेडियोलोजीका विशिष्ट तथा विशेषज्ञ सेवाहरू भने सञ्चालन गर्न सकिएको छैन।
“अहिले मेडिकल अफिसरले पेट र महिलाको यूएसजी गरिरहनुभएको छ तर विशेषज्ञ रेडियोलोजिस्टले दिने विशिष्ट सेवा दिन सकेका छैनौँ, घाँटी वा गाँठागुँठीबाट पानी निकाल्नेजस्ता प्रक्रियाका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट नै आवश्यक पर्छ।” डा.यादवले भन्नुभयो । अस्पतालबाट पूर्ण सेवा नपाएपछि जिल्लाका बिरामी बुटवल धाउनुपर्ने बाध्यता बनेको छ ।विशेषज्ञ चिकित्सकको दरबन्दी लामो समयदेखि रिक्त भइ सेवा प्रवाहमा असहजता आउँदा पनि लुम्बिनी प्रदेश सरकारले रिक्त दरबन्दीमा चिकित्सक पठाउन ढिलाइ गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस