२०८२ जेष्ठ २५, शनिबार
24 खबर अपडेट

तीन वर्ष भित्रै भूमि समस्या समाधान गर्ने गरी लागिपरेका छौँ : केन्द्रीय अध्यक्ष रिजाल

२०८१ चैत्र १६, आईतबार प्रकाशित ( महिना अघि) ३८३ पाठक संख्या

मोहन पौडेल
परासी, १७ चैत । भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले आगामी तीन वर्षभित्रमा भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने गरि कामलाई तीव्रता दिएको बताउनुभएको छ ।
भूमि समस्या समाधान आयोग पश्चिम नवलपरासीले आज परासीमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रिजालले आयोगले आगामी २०८४ असोज मसान्त भित्र नेपालमा रहेका सबै भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गरिसक्ने गरि कार्ययोजना बनाएर अघि बढेको बताउनुभएको हो ।
संविधानमा गरिएको व्यवस्था अनुसार नै सबै भूमिहीन र सुकुम्बासीलाई जग्गाको मालिक बनाउने उहाँले बताउनुभयो । अध्यक्ष रिजालले सक्रियताका साथ प्रभावकारी रुपमा आयोगको कामलाई अघि बढाउन आयोगको जिल्ला समितिलाई निर्देशन पनि दिनुभयो ।
उहाँले स्थानीय तह र जिल्ला आयोगले सक्रियतापूर्वक काम गरेको खण्डमा मात्र आयोगको काम प्रभावकारी हुने र तोकिएको समय भित्रै भूमिहीनलाई जग्गाको मालिक बनाउन सकिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा आयोगका केन्द्रीय विज्ञ सदस्य डा.जगत बस्नेतले आयोगको कार्यविधि तथा कार्ययोजनाहरुको बारेमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल तथा कर्मचारीहरुलाई अभिमुखीकरण गर्नुभएको थियो ।
आयोगका जिल्ला अध्यक्ष लालबहादु गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा आयोगका केन्द्रीय सदस्य अनिलकृष्ण प्रसाईँ, जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादव(रुदल), सुनवल नगरपालिकाकी मेयर बिमला अर्याल, नेपाली कांग्रेसका उपसभापति अनिल गौड, नेकपा एमालेका उपाध्यक्ष डोलराज भण्डारी, आयोगका जिल्ला सदस्य थानप्रसाद गैरे, सदस्य सचिव कैलाशनाथ पाण्डे लगायतले भूमि समस्या समाधानका विषयमा आआफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस