२०८१ पौष २६, शुक्रबार
24 खबर अपडेट

सुनवलमा व्यवस्थित शवदाह स्थल बन्दै

२०८१ पौष २६, शुक्रबार प्रकाशित (0 घण्टा अघि) १८४ पाठक संख्या

मोहन पौडेल
परासी, २६ पुस । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–३ सोमनाथ खोलामा व्यवस्थित सार्वजनिक शवदाह स्थल निर्माणको कार्य अघि बढेको छ । सुनवल नगरपालिका र स्थानीय उपभोक्ताको संयुक्त लागत सहभागितामा शवदाह स्थललाई व्यवस्थित गर्न लागिएको हो ।
सुनवल–३ स्थित जनउदय सामुदायिक वनको छेउ भएर बग्ने सोमनाथ खोला र तिलकाना खोलाको दक्षिणपूर्वी भागमा परम्परादेखि नै रहेको शवदाह स्थललाई व्यवस्थित गर्दै आवश्यक संरचना निर्माणको कार्य भईरहेको सार्वजनिक दाह संस्कार स्थल सोमनाथ खोला निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर सेनले जानकारी दिनुभयो ।
शवदाह स्थल निर्माण भईरहेको उक्त ठाउँमा विगतदेखि नै फाट्टफुट शवदाह हुने गरेको थियो । “सुनवलमा जहिलेदेखि वस्ती बस्न थाल्यो, त्यही समयदेखि नै यहाँ शवदहन हुँदै आएको हो, तर व्यवस्थित थिएन, यसलाई व्यवस्थित गर्नुपर्छ भनेर विगतदेखि नै आवाज पनि उठेको थियो, अहिले काम अघि बढेको छ”, उपभोक्ता समिति अध्यक्ष सेनले भन्नुभयो ।
सुनवलमा व्यवस्थित शवदाह स्थल नभएका कारण अधिकांश हिन्दु धर्मावालम्वीहरुले त्रिवेणी र देवघाटमा लगेर शवदाह गर्ने गरेका छन् भने आर्थिक रुपले विपन्न तथा दलित समुदायले भने सोही स्थलमा शवदहन गर्दै आएको स्थानीयले बताएका छन् । यस स्थलको पूर्वमा मगरघाट र केहीपर राजमार्गदेखि दक्षिणतर्फ गुरुङको घाट पनि रहेको छ ।
करिब दश कठ्ठा क्षेत्रफलमा फैलिएको यस स्थलमा अहिले शवदाहका लागि आवश्यक संरचना निर्माण भईरहेका छन् । शव अन्त्येष्टिका लागि खोला किनारमा पक्कि संरचनासहित दुई वटा चित्ता निर्माण गरिएको छ भने खोलासम्म पुग्नका लागि सिँडी निर्माण गरिएको छ ।

Ghat 3

 

शवदाह स्थल निर्माण तथा व्यवस्थित गर्न सुनवल नगरपालिकाबाट चालु आर्थिक वर्षमा रु ५ लाख बजेट विनियोजन गरी काम थालिएको नगर प्रमुख बिमला अर्यालले जानकारी दिनुभयो ।
शवदहनका लागि टाढा जानुपर्ने र भएको स्थल पनि व्यवस्थित नभएकोले व्यवस्थित सार्वजनिक शवदाह स्थल निर्माणलाई नगरपालिकाले प्राथमिकता दिएको मेयर अर्यालले बताउनुभयो । शवदाह स्थल निर्माणका लागि अन्य निकायसँग सहयोगका लागि आग्रह गरिएको तथा आगामी दिनमा पनि नगरपालिकाबाट बजेट विनियोजन गरिने उहाँले बताउनुभयो ।
नगरपालिकाबाट विनियोजित रकमसहित जनस्तरबाट समेत थप रु ३ लाख संकलन गरी शवदाह स्थलमा संरचना निर्माण गरिएको उपभोक्ता समिति अध्यक्ष सेनले बताउनुभयो । यस स्थललाई थप व्यवस्थित सबै जातजातिको शवदाह गर्ने स्थलको रुपमा विकास गर्न गुरुयोजना समेत निर्माण गर्न लागिएको उहाँको भनाई छ ।
आगामी दिनमा उक्त स्थलमा खानेपानीको व्यवस्था, मलामीलाई घाम पानीबाट जोगाउन टहरा तथा प्रतिक्षालय, चौतारी लगायतका संरचना बनाउने, खोलाको छेउछाउमा वर पिपल,स्वामी लगायत फलफूलका विरुवा लगाउने योजना बनाईएको छ । यस क्षेत्रमा मूख्य रुपमा खोलाको तटबन्ध र तारबार गर्न आवश्यक रहेको स्थानीय बताउँछन् । तटबन्धसहित आवश्यक संरचनाहरु निर्माण गर्न करिब दुई करोडको लगानी आवश्यक पर्ने समितिको अनुमान छ । भविष्यमा विद्युतीय शवदाह मेसिन राख्ने सोच समेत बनाएको अध्यक्ष सेनको भनाई छ ।

Ghat 1

Ghat 2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस