परासी, २५ मंसिर । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र अस्पताल सुधारको माग गर्दै जिल्लाका ६ दल आन्दोलित भएका छन् । अस्पतालमा दरबन्दी बमोजिम ११ औँ तहको विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।
सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र पठाएका ६ राजनीतिक दलहरुले मंगलबार पत्रकार सम्मेलन गरी अस्पताल सुधारको माग गरेका हुन् । नेकपा माओवादी केन्द्र, जसपा नेपाल,जनमत पार्टी, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टी नवलपरासीले अस्पतालमा गरिएको राजनीतिकरण र वेथिती नियन्त्रणको माग गरेका हुन् ।
पछिल्लो समय अस्पतालका मेसुको पटकपटकको सरुवा र र डाक्टरहरु पनि मेसु बन्ने होडमा लाग्दा अस्पताल अस्तव्यस्त भएको जसपा नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादवले बताउनुभयो । उहाँले दरबन्दि बमोजिमको विशेषज्ञ चिकित्सकलाई मेसु बनाउन माग गर्नुभयो । मेसुकै कारण अस्पतालका सेवाहरुमा लापरवाही र सेवामा गुणस्तर नभएको उहाँको दाबी थियो ।
लोसपा नेपालका जिल्ला अध्यक्ष मुकुरजी गिरीले अस्पताल जस्तो संवेदशील ठाउँमा अनावश्यक राजनीतिकरण गरिएको भन्दै असन्तुष्टि जनाउनुभयो । उहाँले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा अस्पतालले जोड दिनुपर्नेमा त्यसो नभएको जिकिर गर्नुभयो । नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य बुद्धन अलिले अस्पतालमा विशेषज्ञ डाक्टरको व्यवस्थापन, उनीहरुको टिकाउपन र गुणस्तरीय स्वास्थ्य सेवाको कमी रहेको भन्दै तत्काल अनुभवी मेसुको व्यवस्थापन गर्न प्रदेश सरकारसँग माग गर्नुभयो ।
नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का कार्यबाहक जिल्ला अध्यक्ष चन्द्रभुषण पाठकले हाल डाक्टरहरुबीच मेसु बन्ने होडबाजीका कारण स्वास्थ्य सेवाहरु प्रभावित हुनुका साथै अस्पताल अस्तव्यस्त भएको बताउनुभयो । नागरिक उन्मुक्ती पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष ओमप्रकाश चौधरीले आफूहरुको माग सम्बोधन नभए चरणबद्ध आन्दोलन शुरु गरिने चेतावनी दिनुभयो । ६ दलले भोली मुख्यमन्त्री लगायतको पनि ध्यानाकर्षण गराउने बताएका छन् ।