२०८१ मंसिर १९, बुधबार
24 खबर अपडेट

परासीमा सप्ताहव्यापी श्रीमद्भागवत धान्याञ्चल ज्ञान महायज्ञ शुरु

२०८१ मंसिर १५, शनिबार प्रकाशित ( दिन अघि) २८३ पाठक संख्या

मोहन पौडेल
परासी, १५ . मंसिर । सनातन धर्म संस्कृतिको संरक्षण गर्न पश्चिम नवलपरासीको सदरमुकाम परासीमा शनिबारदेखि श्रीमद्भागवत धान्याञ्जल सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ । रामग्राम–३ स्थित लक्ष्मीनारायण एवं नर्मदेश्वर महादेव मन्दिर घोडपालीमा  सुरु भएको श्रीमद्भागवत धान्याञ्चल सप्ताह ज्ञान महायज्ञको आज कलशयात्रासहित उद्घाटन गरिएको हो ।
मंसिर १५ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञको उद्घाटन गर्दै रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले धर्मसंस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मन्दिरको सर्वांगिण विकासका लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता व्यक्त गर्दै महायज्ञ सफलताको शुभकामना व्यक्त गर्नुभयो । नगर उपप्रमुख सम्झना चौधरीले धर्म संस्कृतिको पालनाले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मन्दिरको विकासका लागि नगरपालिकाबाट गरिएको सहयोगबारे प्रकाश पार्नुभएको थियो । महायज्ञ उद्घाटनअघि निकालिएको कलशयात्राले नगर परिक्रममा गरेको थियो ।
लक्ष्मीनारायण एवं नर्मदेश्वर महादेव मन्दिर, यज्ञ सम्पादन मूल समारोह समिति घोडपालीको आयोजना तथा बैदिक धर्म परिषद् नेपाल नवलपरासीको सहआयोजनामा सञ्चालन गरिएको यस सप्ताहव्यापी महायज्ञमा नेपाल आमा आश्रमका संरक्षक एवं प्रसिद्ध कथा बाचक नारायण न्यौपानेको मुखारविन्दबाट संगीतमय कथा वाचन पनि शुरु भएको छ ।
यज्ञ सम्पादन मूल समितिका संयोजक शम्भु अग्रवालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थापक सदस्य अमरचन्द अग्रवालले आफ्ना हजुरबुबा स्वर्गीय तिर्थराज अग्रवालबाट जग्गादान गरि वि.स.२०३८ सालमा उक्त मन्दिर स्थापना भएको जानकारी दिनुभयो ।
सप्ताह ज्ञान महायज्ञबाट संकलित रकमबाट लक्ष्मीनारायण एवं नर्मदेश्वर महादेव मन्दिरको अक्षयकोष निर्माण एवं मन्दिरको सर्वाङ्गिण विकासको लक्ष्य राखिएको मन्दिरका व्यवस्थापक गिरीराज पाण्डेयले बताउनुभयो । महायज्ञमा दैनिक भागवत पाठ, हवन, अभिषेक, बेद पाठ, चण्डी पाठ, रुद्रीहोम, गिता पाठ हुनेछ।यस्तै ब्रतबन्ध, तुलादान, चौराशी पूजा, लाखबत्ती लगायतका कार्यहरु पनि सञ्चालन हुने व्यवस्थापक पाण्डेले बताउनुभयो ।
महायज्ञको पहिलो दिन नगर प्रमुख धनपत यादवबाट रु ११ हजार १११,अमरचन्द अग्रवालाट रु ११ हजार १११, पूर्व उपमेयर रम्भा कुँवरबाट रु ५ हजार ५०५सहित विभिन्न व्यक्तिहरुबाट चन्दादानको घोषणा भएको महायज्ञका आर्थिक संयोजक भोजराज बराकोटीले जानकारी दिनुभयो ।
सप्ताहव्यापी ज्ञान महायज्ञमा प्रत्येक दिन विहान नित्य पूजापाठ,भागवन कथा पारायण, दिउँसो संगीतमय कथा प्रवचन र साँझ टीका,प्रसाद, पञ्चामृत वितरण,पशुपतिको जस्तै श्रृंगारिक महाआरती, सन्ध्याकालीन आरती र महात्म्य पाठ र राति ९ बजेसम्म राष्ट्रिय कलाकारबाट भजनकीर्तन हुने महायज्ञका प्रचारप्रसार संयोजक नारायण पाण्डेयले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस