२०८१ कार्तिक ३०, शुक्रबार
24 खबर अपडेट

परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सातौँ साधारणसभा तथा अधिवेशन उद्घाटन

२०८१ कार्तिक ३०, शुक्रबार प्रकाशित ( घण्टा अघि) ९८ पाठक संख्या

परासी, ३० कात्तिक । रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले नगरका १८ वटै वडामा खानेपानीको पहुँच पुर्याउने गरी नगरपालिका अघि बढेको बताउनुभएको छ ।
परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सातौँ वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै नगर प्रमुख यादवले सबै नगरवासीलाई खानेपानीको पहुँचमा ल्याउन यस वर्ष करिब ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको पनि बताउनुभयो ।
नगर प्रमुख यादवले खानेपानी विस्तार गरिएका सवै घरधुरिलाई फिल्टर वितरण गरि शुद्ध पिउने पानीको उपलब्धता गराउन संस्थालाई आग्रह गर्नुभयो । पिउने पानी गुणस्तर हुनुपर्नेमा जोड दिँदै मेयर यादवले नगरवासीलाई स्वच्छ र शुद्ध पिउने पानी उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खगेश्वर पन्थीले अनेक चुनौतीकाबीच परासी क्षेत्रका एक हजार ८७० धारा मार्फत परासीवासीलाई खानेपानी उपलब्ध गराउन सफल भएको बताउनुभयो । उपभोक्ताले पानी उपभोग गरेवापतको महशुल समयमै नर्तिदा संस्थाको वक्यौता बढ्दै गएकोले आयोजनालाई दिगो रुपमा सञ्चालन गर्न समस्या भईरहेको उहाँले बताउनुभयो । नगरपालिका र प्रदेश सरकारसँग सहकार्य गरि माग अनुसारको खानेपानी उपलब्ध गराउन संस्थाले पर्याप्त पहल गर्दै आएको बताउँदै अध्यक्ष पन्थीले पानीको महशुल तिरेर सहयोग गर्न उपभोक्ताहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरी,खानेपानी तथा सरसफाइ कार्यालय नवलपरासीका प्रमुख प्रकाश न्यौपाने, नेकपा माओवादी केन्द्रका रामग्राम नगर सचिवालय सदस्य रामबहादुर केवट, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक जिल्ला सभापति रवि पाण्डे, राप्रपाका वरिष्ठ जिल्ला सदस्य राजेश यादव,जसपा नेपालका जिल्ला उपाध्यक्ष शेष नारायण सहानी,लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पुरन चौधरी, नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति राजेन्द्रप्रसाद अग्रहरी,नमूना महिला समाजकी अध्यक्ष सरिता पौडेल, सामुदायिक रेडियो परासीका प्रबन्ध निर्देशक मेघराज गौतम, पत्रकार एवं रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेल लगायतले बोल्दै पानीको गुणस्तर र वक्यौता असुलीमा ध्यान दिन आग्रह गर्नुभएको संस्थाका उपाध्यक्ष चन्द्रप्रकाश गुप्तले जानकारी दिनुभयो ।
परासी खानेपानी तथा सरसफाइ संस्थाले रामग्राम नगरपालिकाको वडा नं.१,२,३,४,५,६,१० र १२ गरि आठ वटा वडामा खानेपानी वितरण गरिरहेको संस्थाका सचिव उमाशंकर उपाध्यायले जानकारी दिनुभयो । सभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव उपाध्यायले आगामी दिनमा वक्यौता असुलीको कार्यलाई कडाइका साथ कार्यान्वयन गर्दै खानेपानीको गुणस्तरका लागि पहल गर्ने बताउनुभयो ।
कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी कार्यसमिति सदस्य लक्ष्मी पौडेलले वक्यौता उठाउने कार्यलाई कडाइका साथ अघि बढाउँदा गत आर्थिक वर्षमा रु पन्ध्र लाख वक्यौता असुली गर्न सफल भएको बताउनुभयो । हाल यस वर्षको समेत वक्यौता थपिँदा अब करिब ५० लाख रुपैयाँ वक्यौता रहेको उहाँले बताउनुभयो ।
२०३९ सालमा स्थापना भएको परासी खानेपानी आयोजनाले वडा नं.१ मा रहेको दुई लाख २५ हजार लिटर क्षमताको पूरानो ओभरहेड ट्यांकी र रामग्राम–६ मा रहेको बृहत सुधार विस्तार आयोजना अन्र्तगतको चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्यांकीबाट गरि ६ लाख ७५ हजार लिटर पानी विहान र साँझ गरि दैनिक ४ घण्टा वितरण गर्दै आएको छ ।

संस्थाको नयाँ नेतृत्व चयन तथा वार्षिक समिक्षा र आगामी नीति तथा योजना तर्जुमाका लागि आज गणपुरक संख्या नपुगेकोले अब मंसिर ३ गते पुनः भेला बोलाईएको अध्यक्ष पन्थीले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस