मोहन पौडेल
परासी, २६ कात्तिक । पूर्वपश्चिम राजमार्ग अन्तरगत बुटवल–नारायणगढ सडक खण्डको निर्माण कार्यलाई छिटो पूर्णता दिन आयोजनासँग जोडिएका तीन जिल्लाका स्थानीय जनप्रतिनिधिले संघीय सरकारलाई दबाब दिने भएका छन् ।
चाइनिज ठेकेदार कम्पनीले जिम्मा लिएको यो सडकको निर्माणमा ढिलाई हुँदा यात्रु तथा आयोजना प्रभावित क्षेत्रका नागरिकले लामो समयदेखि सास्ती भोग्नुपरेको भन्दै यहाँका जनप्रतिनिधिले संघीय सरकारलाई दबाब दिने निर्णय गरेका हुन् ।
बुटवल–नारायणगढ सडक खण्डमा पर्ने रुपन्देही, पश्चिम नवलपरासी र पूर्वी नवलपरासीका जिल्ला समन्वय समिति एवं राजमार्गसँग जोडिएका नगरपालिका तथा गाउँपालिकाका प्रमुख एवं प्रतिनिधिहरुको बर्दघाटमा सम्पन्न बैठकले संयुक्त रुपमा दबाब दिने निर्णय गरेको हो ।
बैठकले आगामी कात्तिक २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीसहित संघीय भौतिक पूर्वाधार विकास मन्त्री देवेन्द्र दाहाल लगायतलाई भेटी संयुक्त दबाब दिने निर्णय गरेको जिल्ला समन्वय समिति नवलपरासी पश्चिमका प्रमुख भगौती यादव(रुदल)ले जानकारी दिनुभयो । तीनै जिल्लाका संघीय तथा प्रदेश सांसद, जिल्ला समन्वय समिति एवं स्थानीय तहका जनप्रतिनिधिहरु संयुक्त रुपमा बालुवाटार पुगि प्रधानमन्त्रीसहित सम्बन्धित निकायमा संयुक्त दबाब एवं ध्यानाकर्षण गराईने उहाँले बताउनुभयो ।
२०७५ सालको माघमा सम्झौता भएर २०७९ साउनमा सक्ने गरि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन प्रालिलाई दिइएको समयसीमा कटेर ३ पटक म्याद थपिसकेको छ । अहिलेसम्म करिब ५३ प्रतिशत पनि काम हुन सकेको छैन् । काममा ढिलासुस्ती भएको भन्दै सरकारले पनि ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको बताईएको छ ।
गत असारमा सरकारले तेस्रोपटक म्याद थपेदेखि निर्माण कम्पनीले वर्षा र चाडबाडको बहाना देखाएर काम नै गरेको छैन् । सम्झौताअनुसार ५ वर्षमा सक्नुपर्ने उक्त सडक खण्डको प्रगति सो अवधिमा जम्मा १८ प्रतिशत मात्र थियो । पहिलोपटक एक वर्षको म्याद थपिएपछि कार्यप्रगति बढेर ४२ प्रतिशत पुगेको थियो । दोस्रोपटक म्याद थप्दा ५२ प्रतिशत र तेस्रोपटक म्याद थपेको ४ महिनासम्म थप केही प्रगति हुन सकेको छैन् ।
सम्झौतामा ठेक्का रकम १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ छ । कम्पनीले आफूलाई ७ अर्बभन्दा बढी घाटा भएकाले त्यसको पूर्ति गर्न सम्झौताविपरित तत्काल २ अर्ब दिन माग गरेको बताईएको छ । कम्पनीले ६ वर्षअघि अनुमानित लागतको २४ प्रतिशत कम रकममा सम्झौता गरेको थियो । बीचमा कोभिडलाई देखाएर काम हुन सकेन । रूख काट्ने विषयमा पनि लामो समय विवाद भएको थियो ।
नारायणगढ–बुटवल सडकको पश्चिम खण्डका आयोजना प्रमुख शशांक मिश्रले अबको एक हप्तामा काम शुरु गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको बताउनुभयो । कम्पनीले ४४ प्रतिशत भुक्तानी प्राप्त गरिसकेको उहाँले बताउनुभयो । नारायणगढ–बुटवल सडक खण्ड अस्तव्यस्त हुँदा सर्वसाधारणले पाएको दुःख निकै कष्टकर छ । वर्षामा हिलो र हिउँदमा धूलोका कारण उक्त बाटो हुँदै यात्रा गर्ने यात्रुले निकै कठिनाइ भोग्नुपरिरहेको छ ।
जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौती यादवको अध्यक्षतामा भएको उक्त बैठकमा जिसस रुपन्देहीका प्रमुख उमाकान्त चापागाई, जिसस नवलपुरका प्रमुख बाबुराम विश्वकर्मा,बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, उपमेयर सावित्रा अर्याल,बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठ, देवदह नगरपालिकाका मेयर ध्रुब खरेल,देवचुली नगरपालिकाका मेयर हरिप्रसाद न्यौपाने, सुनवल नगरपालिकाका उपमेयर सूर्यप्रसाद दुवे, सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी, विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी, मध्यविन्दु नगरपालिकाका उपमेयर पूर्णकला चौधरी, कावासोती नगरपालिकाकी उपमेयर फुलकुमारी थनेत,उद्योग वाणिज्य संघ बर्दघाटका अध्यक्ष लेखनाथ न्यौपाने लगायतको सहभागिता थियो ।