२०८१ कार्तिक २०, मंगलबार
24 खबर अपडेट

प्रतापपुरमा स्वयम् हेरचाह समूहको अनुगमन तथा अन्तरक्रिया, पालिकाले कार्यविधि बनाउने

२०८१ कार्तिक १४, बुधबार प्रकाशित ( दिन अघि) १३१ पाठक संख्या

परासी,१४ कात्तिक । उपेक्षित उष्ण प्रदेशीय रोग सम्बन्धी सचेतना जगाउन पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा गठित स्वयम हेरचाह समूहका क्रियाकलापको अनुगमन तथा अन्तरक्रिया गरिएको छ । प्रतापपुर गाउँपालिकाको समन्वय तथा ईन्द्रेणी सामाजिक विकास मञ्च बर्दघाट र फेयर मेड फाउण्डेसनद्धारा सञ्चालित आधारभूत स्वास्थ्य परियोजनाको सहयोगमा स्वयम् हेरचाह समूहसँग अन्तरक्रिया तथा अनुगमन गरिएको हो ।
प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव, उपाध्यक्ष मानकुमारी चौधरी,ईन्द्रेणी सामाजिक विकास मञ्चका पूर्व अध्यक्ष एवं संविधानसभा सदस्य विक्रम खनाल, संस्थाका अध्यक्ष होमराज कुँवर, कार्यबाहक कार्यकारी निर्देशक पुष्पराज आचार्य लगायतको टोलीले प्रतापपुरको बैदौलीस्थित बसहिया स्वयम् हेरचाह समूहको अनुगमन गर्दै समूहका पदाधिकारीसँग अन्तरक्रिया गरेको हो ।
स्वयम हेरचाह समूहले प्रभावितलाई संगठित गर्दै स्वयम हेरचाह सिकाउने, रोगप्रतिको गलत धारणा हटाउने र रोगीलाई उपचारको दायरामा ल्याउने कामको साथै आयआर्जनका क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ । अनुगमन टोलीले समूहका सदस्यहरुले सञ्चालन गरिरहेका व्यवसायको अनुगमन गर्दै आयआर्जनका क्रियाकलापलाई थप बलियो बनाउन आग्रह गरेको थियो । समूहलाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुझाव पनि अनुगमन टोलीले लिएको छ ।
अनुगमन पश्चात गाउँपालिकामा स्वयम् हेरचाह समूहको निर्देशिका निर्माणको विषयमा छलफल समेत भएको छ । उपेक्षित उष्ण प्रदेशीय रोगबाट संक्रमितहरुको समुह बनाएर उनीहरुलाई उपचारको दायरामा ल्याउन र बहिष्करणमा पर्न नदिन स्वयम हेरचाह समूह गठन, व्यवस्थापन तथा परिचालन सम्बन्धि कार्यविधि ल्याउनुपर्ने विषयमा छलफल भएको ईन्द्रेणीका कार्यबाहक कार्यकारी निर्देशक आचार्यले बताउनुभयो । आचार्यले उक्त कार्यविधिको महत्व र मस्यौदाको विषयमा सहजीकरण गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष यादवले आगामी कार्यपालिका बैठकबाट पारित गर्ने गरि कार्यविधि निर्माणको कार्य अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले प्रमुख प्रशासकीय अधिकृत अर्जुन चौधरी र स्वास्थ्य शाखालाई कार्यविधिको अध्ययन गरि वैधानिकता दिने प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस