२०८१ मंसिर १०, सोमबार
24 खबर अपडेट

चौथो सुनवल महोत्सव मंसिर १२ देखि

२०८१ कार्तिक ११, आईतबार प्रकाशित ( हफ्ता अघि) १३० पाठक संख्या

मोहन पौडेल
परासी, ११ कात्तिक । स्थानीय उत्पादनको प्रवद्र्धन एवं बजारीकरण गर्ने उद्देश्यका साथै आगामी मंसिर १२ गतेदेखि पश्चिम नवलपरासीको सुनवलमा चौँथो सुनवल महोत्सव आयोजना हुने भएको छ । उद्योग वाणिज्य संघ सुनवलले आयोजना गर्न लागेको उक्त मेला मंसिर २४ गतेसम्म १३ दिन सञ्चालन हुने छ ।
स्थानीय व्यवसायी र उद्यमलाई प्राथमिकता दिईएको सुनवल महोत्सवमा कृषि, लघु,घरेलु तथा साना उद्यम,पर्यटन,हस्तकला,सूचना प्रविधि लगायतका गरि २०० स्टल रहने सुनवल उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्यले जानकारी दिनुभयो । आईतबार सुनवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कर्माचार्यले यस मेलाको एक लाख दर्शकले अवलोकन गर्ने र रु दश करोडको आर्थिक कारोबार हुने अनुमान गरिएको बताउनुभयो ।
महोत्सवले उपभोक्तासँग प्रत्यक्ष सम्बन्ध स्थापित गरी औद्योगिक तथ व्यापारिक चहलपहल बढाई आर्थिक जगत लाभान्वित हुने उहाँले बताउनुभयो । ‘स्थानीय उत्पादनका साथै खुल्लाबजारबाट नेपालमा भित्रिएका वस्तु तथा सेवाहरु एउटै छानामुनि अवलोकन गराउने उद्देश्यले हामीले सुनवल महोत्सवको चौँथो संस्करण आयोजना गर्न लागेका हौँ,यस मेलाको मूख्य विशेषता स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्ता, उत्पादक,वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेटघाट, भेला गराई सामानहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराउनु हो’, संघका अध्यक्ष कर्माचार्यले भन्नुभयो ।
मेलामा सुनवल नगरपालिकासहित स्थानीय लघु, घरेलु तथा साना उद्यमीका उत्पादनको प्रदर्शनीका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ खरेलले बताउनुभयो । मेलाको थप आकर्षण बढाउन तथा आदिवासी जनजातीहरुको परम्परागत बासस्थान,खानाका परिकार तथा संस्कृति संरक्षणका लागि पनि थारु, मगर, गुरुङ लगायतको परम्परागत घरहरु एवं खानाका परिकारहरु पनि राखिने खरेलले जानकारी दिनुभयो । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती पनि रहने छ ।
यस बाहेक सांस्कृतिक कार्यक्रम अन्र्तगत विद्यालय स्तरीय नृत्य आइडल, खाना महोत्सव, बाल उद्यान,सेल्फी जोन लगायत पनि रहने संघका कार्यकारी सदस्य जीवन पौडेलले बताउनुभयो । महोत्सव सुनवलस्थित सोमनाथ बजार परिसरमा सञ्चालन हुने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस