२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

६९ औँ प्रहरी दिवस : नवलपरासीमा ९ जना उत्कृष्ट प्रहरीसहित अमर प्रहरीका परिवारलाई सम्मान

२०८१ आश्विन ३०, बुधबार प्रकाशित ( दिन अघि) २५८ पाठक संख्या

मोहन पौडेल
परासी, ३० असोज । पश्चिम नवलपरासीमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरिएको छ । ६९ औँ प्रहरी दिवसको अवसरमा आज जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले उत्कृष्ट प्रहरी कर्मचारीसहित अमर प्रहरीका परिवारलाई समेत सम्मान गरेको हो ।
परासीस्थित जिल्ला प्रहरी कार्यालयमा आयोजित विशेष समारोहमा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले ईलाका प्रहरी कार्यालय बेलाटारीका ईन्चार्ज प्रहरी निरीक्षक प्रकाश खत्रीसहित नौ जना प्रहरीलाई नगदसहित सम्मान गर्नुभएको हो ।
ईप्रका बेलाटारीका प्रमुख खत्रीले विभिन्न अपराधिक क्रियाकलापको अनुसन्धानमा सक्रिय नेतृत्वदायी भूमिका खेलेको, आफ्नो ईलाकामा उत्कृष्ट तवरले प्रहरी परिचालन गरि तस्करी नियन्त्रण, लागूऔषध कारोबारको नियन्त्रण,अपराध न्यूनीकरण तथा फैसला कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरिएको हो ।
यसैगरी जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) गणेश घर्ति मगर,ईलाका प्रहरी कार्यालय सुनवलमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) राजाराम यादव,ईलाका प्रहरी कार्यालय महेशपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक नारायण पोखरेल,प्रहरी हवल्दार अनिरुद्रप्रसाद पासी, ईलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत प्रहरी सहायक हवल्दार दुखीराम चौधरी,जिप्रका सञ्चार शाखामा कार्यरत प्रहरी सहायक हवल्दार दिवाकर यादव, जिप्रकामै कार्यरत प्रहरी जवान लक्ष्मी बोहरा,प्रहरी जवान कुल बहादुर सुनारलाई पनि एक वर्षको अवधिमा आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा ज्येष्ठ पूर्व प्रहरी नायव निरीक्षक गुरुप्रसाद शर्मा,अमर प्रहरीका परिवारहरु एवं प्रहरी दिवस २०८१ को अवसरमा आयोजित आन्तरिक व्याडमिन्टन प्रतियोगिता, म्युजिकल चेयर प्रतियोगिताका विजेतालाई पनि पुरस्कृत गरिएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासीस्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी सहायक निरीक्षक यसोदा विकलाई प्रदेश प्रहरी कार्यालय दाङले सम्मान गरेको जानकारी गराईएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सीमित स्रोत साधनका बाबजुद पनि नेपाल प्रहरीले उत्कृष्ट कार्यसम्पादन गरि अपराध नियन्त्रण र शान्ति सुव्यवस्था कायम गर्न सफल भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि नेपाल प्रहरीलाई जनताको जिउधनको रक्षा, शान्ति सुरक्षा, अमनचयन,अपराध नियन्त्रणको क्षेत्रमा अझै बढी ईमान्दारितापूर्वक, नैतिकतापूर्वक पेशागत दक्षता र मर्यादाभित्र रहेर जनसेवामा समर्पित हुन थप उर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
प्रजिअ श्रेष्ठले उच्च मनोबलका साथ जनसेवामा समर्पित हुन आग्रह गर्दै जनताको सामिप्यमा रहेर जनताको मन जित्ने गरि कार्यसम्पादन गर्न पनि जोड दिनुभयो । प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले हालसम्म एक हजार ७८७ जना अमर प्रहरीले सहादत प्राप्त गरेको भन्दै सबै अमर प्रहरीमा श्रद्धान्जली अर्पण गर्नुभयो । एसपी फुयालले शान्ति सुरक्षालाई थप सुदृढ बनाउन,अपराध नियन्त्रण गर्न र सभ्य समाज निर्माण गर्न प्रहरी र नागरिकको हातेमालो आवश्यक रहेको बताउनुभयो ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा, पूर्वप्रहरी संगठनका जिल्ला अध्यक्ष ओमप्रकाश चौधरी,जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी रेशम बोहरा लगायतले प्रहरी दिवसको शुभकामना व्यक्त गर्नुभएको ईलाका प्रहरी कार्यालय सुनवलका प्रमुख प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी दिनुभयो ।

2 3

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस