२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

परासीमा बृहत रक्तदान,७९ युनिट रगत संकलन

२०८१ आश्विन २३, बुधबार प्रकाशित ( हफ्ता अघि) १९४ पाठक संख्या

मोहन पौडेल
परासी, २३ असोज । पश्चिम नवलपरासीमा बिरामीको माग अनुसारको रगत अभाव भएपछि बुधबार सदरमुकाम परासी बजारमा बृहत रक्तदान कार्यक्रम गरिएको छ । विजयादशमी, दिपावली, छठ तथा प्रहरी दिवसको अवसर आयोजना गरिएको उक्त कार्यक्रमबाट ७९ युनिट रगत संकलन भएको छ ।
नेपाल रेडक्रस सोसाईटी परासी उपशाखा र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा सुरक्षाकर्मी र स्थानीय नागरिक गरि ७९ जनाले रक्तदान गरेका थिए । बिरामी तथा घाईतेहरुको उपचारमा रगत अभाव नहोस् भनेर परासीको बुद्धचोकमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी परासी उपशाखाका सभापति सन्दिप अग्रहरीले बताउनुभयो ।
रगत दान गर्दा कोही नमर्ने तर नपाएर अकालमै ज्यान जान सक्ने भएकोले रगत अभाव हुन नदिन रक्तदान मार्फत रगत संकलन गरि रेडक्रसलाई हस्तान्तरण गरिएको सभापति अग्रहरीले बताउनुभयो । रेडक्रस परासी उपशाखाले मानवीय सेवाका कार्यलाई निरन्तर अघि बढाईरहेको पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा पश्चिम नवलपरासीकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले रक्तदान जस्तो पवित्र कार्यमा देखाईएको अग्रसरताप्रति खुशी व्यक्त गर्नुभयो । रक्तदान गर्ने रक्तदाताहरुलाई धन्यवाद व्यक्त गर्दै प्रजिअ श्रेष्ठले तीन तीन महिनामा रक्तदान गर्न आग्रह गर्नुभयो । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीले जिल्लाको दक्षिणी क्षेत्रमा चेतनाको अभावले रक्तदान गर्ने रक्तदाता नभेटिने गरेको भन्दै रक्तदानको महत्वबारे व्यापक सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाका अध्यक्ष रामजी ज्ञवाली, प्रहरी नायव उपरीक्षक रेशम बोहरा लगायतले रक्तदानको महत्वबारे प्रकाश पार्नुभएको नेपाल रेडक्रस सोसाईटी परासी उपशाखाका सचिव बसन्त पराजुलीले जानकारी दिनुभयो । कार्यक्रममा रक्तदाताहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस