२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

दशैँपछि भूमि आयोग गठनको तयारी, समस्याग्रस्त सहकारीलाई कारवाही शुरु : मन्त्री अधिकारी

२०८१ आश्विन २०, आईतबार प्रकाशित ( हफ्ता अघि) २४६ पाठक संख्या

मोहन पौडेल
परासी, २० असोज । नेपाल सरकारका भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले सरकारले अधिकार सम्पन्न भूमि आयोग गठन गरि जग्गा समस्या समाधान गर्ने गरि अघि बढेको बताउनुभएको छ । विगतमा बनेका आयोगहरुलाई पर्याप्त अधिकार नहुँदा भूमि समस्या समाधान हुन नसकेकोले यसपटक अधिकार सम्पन्न भूमि आयोग गठन हुने उहाँले बताउनुभयो ।
नेकपा एमाले जिल्ला कमिटी पश्चिम नवलपरासीले आज परासीमा गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले दशैँ लगत्तै भूमि आयोगको केन्द्रीय समिति र तिहार पछि जिल्ला समितिहरु गठन गर्ने तयारी भईरहेको जानकारी दिनुभयो । “२०५२ सालमा गठित आयोगलाई सम्पूर्ण अधिकार थियो तर त्यसपछिका आयोगलाई ऐलानी र ८ नम्बर पर्ति बाडँने मात्र अधिकार छ, भूमिहीन जहाँ बसेका छन् त्यहाँको जग्गाको पूर्जा दिने अधिकार नै छैन्, त्यसका लागि कानून संशोधनको विकल्प छैन्,सरकार त्यसमा लागिरहेको छ”, मन्त्री अधिकारीले भन्नुभयो ।
आयोग गठनका लागि गठन आदेश स्विकृतिको प्रक्रिया थालिएको बताउँदै भूमि समस्याको दिगो समाधानका लागि भूमि सम्बन्धि कानूनहरु संशोधन गर्नुपर्ने आवश्यकता देखिएको मन्त्री अधिकारीको भनाई थियो ।
मन्त्री अधिकारीले समस्याग्रस्त सहकारीहरुलाई कारवाहीको प्रक्रिया थालिएको समेत बताउनुभएको छ । देशभर सञ्चालित राम्रा र समस्याग्रस्त सहकारी छनौट गर्न लगाई २२ वटा समस्याग्रस्त सहकारीलाई कारवाही अगाडि बढाईएको उहाँले बताउनुभयो । तर सबै सहकारीलाई एउटै डालोमा राखेर बचत पनि गर्न छोड्ने र ऋण लिएकाले तिर्न नखोज्ने प्रवृत्ति भने गलत भएको मन्त्री अधिकारीले बताउनुभयो ।
एमालेका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री अधिकारीले संयुक्त सरकार जनतालाई अधिकतम सेवा सुविधा दिने प्रयत्नमा लागिरहेको तर पनि जनताका अपेक्षा पूरा गर्न एमालेको एकल सरकार नभएसम्म सम्भव नरहेको जिकिर गर्नुभयो । उहाँले पार्टीलाई बलियो बनाउँदै आगामी निर्वाचनमा एमालेको एकल सरकार बन्ने गरि मिसन ८४ को अभियानमा लाग्न निर्देशन पनि दिनुभयो ।
एमाले केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज सरिता भुसालले एक ढिक्का भएर पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । एमाले जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीले नवलपरासीको दक्षिणी क्षेत्रको डुबान समस्या, सीमा क्ष्ँोत्रमा बैंकले लगानी नगर्ने समस्या एवं एवं भूमि सम्बन्धि वर्षाैँदेखिका समस्या समाधानमा सरकार गम्भीर हुनुपर्नेमा ध्यानाकर्षण गराउनुभएको थियो । कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुले सरकारलाई प्रभावकारी सञ्चालन र जनताका समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिएको एमाले जिल्ला सचिव धीरज बस्यालले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस